arin enterprises

साविक विजेता लिभरपुल म्यानसिटीसँग पराजित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २६, सोमबार

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले साविक विजेता लिभरपुलमाथि शानदार जित हासिल गरेको छ । म्यानसिटीले लिभरपुलले उसकै मैदान एनफिल्डमा ४–१ गोलले हराएको हो ।

घरेलु टोलीलाई पराजित गर्न इके गुन्डोगानले दुई गोल गरे भने राहिम स्टर्लिङ र फिल फोडेनले एक/एक गोल गरे । पराजित टोली लिभरपुलका लागि मोहम्मद सालाहले एक गोलको सान्त्वना दिएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४९ औं मिनेटमा इके गुन्डोगानले गोल गर्दै म्यानसिटीलाई अघि बढाए । ६३ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै मोहम्मद सालाहले लिभरपुलका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसको १० मिनेटपछि ७३ औं मिनेटमा फेरी इके गुन्डोगानले नै म्यानसिटीलाई दोश्रो गोल दिए । ७६ औं मिनेटमा राहिम स्टर्लिङले म्यानसिटीका लागि गोल थपे भने ८३ औं मिनेटमा फिल फोडेनले अर्को गोल थप्दै म्यानसिटीलाई ४–१ को शानदार नतिजासहितको जित दिलाए ।

जितसँगै शिर्ष स्थानको म्यानसिटीको २२ खेलबाट ५० अंक भएको छ भने पराजित टोली लिभरपुल २३ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ ।

शेफिल्ड युनाइटेडमाथि चेल्सीको जित

लिग अन्तर्गत गएराति नै सम्पन्न अन्य खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई २–१ ले पाखा लगाएको छ । मेसन माउन्ट र जोर्गिन्होले एक/एक गोल गर्दै चेल्सीलाई जित दिलाए । शेफिल्डका लागि एन्टोनियो रुडिगरले एक गोल फर्काए ।

पाँचौं स्थानको चेल्सीको २३ खेलबाट ३९ अंक छ भने समान २३ खेलबाट मात्र ११ अंक जोड्दै शेफिल्ड २० औं स्थानमा छ ।

अर्को खेलमा टोटनह्याम हट्सपरले वेस्ट ब्रोमलाई २–० ले हराएको छ । हेरिकेन र सन हुइङ मिनले एक÷एक गोल गर्दै टोटनह्यामलाई जित दिलाएको हो ।

२२ खेलबाट ३६ अंक बटुल्दै टोटनह्याम ८ औं स्थानमा छ भने १९ औं स्थानको वेस्ट ब्रोमको २३ खेलबाट १२ अंक छ ।

१४ औं स्थानको वुल्भरह्याम्पटन वान्डर्स र तेश्रो स्थानको लेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् ।

लेस्टरको २३ खेलबाट ४३ अंक छ भने वुल्भ्सको पनि समान २३ खेलबाट २७ अंक बनाएको छ ।

Categorized in स्पाेर्ट्स