arin enterprises

मातृभाषी चलचित्र सेन्सर बोर्ड गठन गर्न माग

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आषाढ २२, बुधबार

आदिवासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेवाः फिल्म सोसाईटीले ललितपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै नीति लाद्न नहुनेमा जोड दिए ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले महासंघकै पहलमा राज्यले बनाएको चलचित्र ऐनमा आदिवासि जनजातिको प्रतिनिधित्त्व सुनिश्चित बनाउन सकेको बताउनुभयो ।

‘विगतमा राज्यले मातृभाषी चलचित्रलाई देख्दैनथियो, तर अहिले महासंघकै पहल र सक्रियतामा राज्यका चलचित्र सम्वन्धि विभिन्न योजना वा ऐन निर्माण गर्दा जनजाति चलचित्रकर्मीलाई पनि आवद्ध गराउन थालिएको छ’ सुनुवारले भन्नुभयो ।

मातृभाषी चलचित्रको निर्माण इजाजत प्राप्त गर्न चलचित्र विकास बोर्डबाट केही सहुलियत सुविधा पाइएपनि सेन्सर लगायतका प्रकृया अझै झन्झटिलो रहेको सुनुवारले बताउनुभयो ।

यस सम्वन्धमा या त छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्ड गठन गर्न अथवा हालको सेन्सर बोर्डमा मातृभाषी चलचित्रको लागि छुट्टै ढाँचा बनाउन आफुहरुले माग गर्दै आएको सुनुवारले जानकारी गराउनुभयो ।

अहिलेको समयमा जनजाति चलचित्रको निर्माणको संख्या बढे पनि लगानी उठाउन ठुलो समस्या रहेको उनले बताए ।

चलचित्र विकास बाेर्डकाे सह आयोजनामा नेवाः फिल्म सोसाईटीले असार १९ देखि २१ गतेसम्म कुमारीपाटी ललितपुरस्थित स्कूल अफ फिल्म मेकिङमा तीन दिने एडभान्स्ड भिडियोग्राफी कार्यशालाको आयोजना गरेको थियो ।

मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यशालाको समापन गरिएको थियो ।

उक्त समारोहमा बोल्दै सोसाईटीका अध्यक्ष बिराज काजी राजोपाध्यायले युवाहरु लक्षित येस्ता कार्यक्रमले युवाहरुलाइ आदिबासी चलचित्र तर्फ आकर्षित गर्दै आफ्नो कला र आदिबासी सृजनामा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष राजोपाध्यायले सोसाइटीले आउँदो श्रावण ६ गते कलाकार भेला कार्यक्रमको आयोजना गर्न लागेको र उक्त भेलाबाट ३ वटा महत्त्वपूर्ण विषयहरुको घोषणा गर्ने जानकारी पनि गराउनुभयो ।

सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा उतार्दै मातृभाषी चलचित्रलाई पनि सक्दो योगदान दिन आग्रह गरे ।

३ दिने प्रशिक्षणमा १० जना युवालाई प्रशिक्षक बिशाल राजभण्डारीले भिडियोग्राफीका विविध बिषयमा प्रशिक्षण दिनुभएको थियो । समापन समारोहमा महासंघका अध्यक्ष सुनुवारले कार्यशालाका सहभागी साथै प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

Categorized in पेजथ्री