तीनकुने घटनामा ज्यान गुमाएका सञ्चारकर्मी रजकलाई शहिद घोषणा गर्न माग
SamacharDesk – बिराज | २०८१ चैत्र १६, आइतबार

राजावादीको प्रदर्शनको क्रममा तीनकुनेमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई शहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा नेवाः पत्रकार राष्ट्रिय दबूले आईतबार काठमाडौंको वसन्तपुरस्थित महादेव पावर्ती डबलीमा धर्ना दिँदै सरकार समक्ष सो माग गरेको हो ।
धर्नामा विभिन्न वक्ताहरुले तीनकुनेमा भएको अराजक तथा हिंसात्मक गतिविधिमा सञ्चारकर्मी मार्ने र सञ्चारगृहमाथि आक्रमण हुँदा पनि गृह प्रशासन जिम्मेवार तवरले पेश नभएको भन्दै आलोचना समेत गरेका थिए ।
घटनाको उचित छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सञ्चारकर्मी रजक समाचार संकलनको क्रममा मारिएकोमा उहाँलाई शहिद घोषणा गर्न माग गर्दै माग पुरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले जुनसुकै आन्दोलनको निशाना आदिवासी जनजाति भएको उल्लेख गर्दै चैत्र १५ को प्रदर्शनमा मृत्यु हुनेलाई शहिद घोषणा र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे ।
पत्रकार मारिएको विषयमा गृह मन्त्रालय जवाफदेही बन्न पनि बलामीले आग्रह गरे ।
धर्नामा मिडिया एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चारकर्मी सुरेश रजक मारिएको विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरे ।
सरकारले सञ्चारकर्मी सुरेश रजकलाई तीन दिन भित्र शहिद घोषणा नगरे सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुने अध्यक्ष राजकर्णिकारको भनाई रहेको छ ।
त्यसैगरी मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले शुक्रबारको तीनकुनेमा भएको घटनामा सरकारले मुकदर्शक बन्दै घटना लुकाउन खोजेको आरोप लगाए ।
मृतक सञ्चारकर्मीका परिवारको तर्फबाट राजेन्द्र रजकले तीनकुनेको घटनामा सरकारले आफ्नो न्युनत्तम दायित्वबाट वञ्चित भएर घटनाको तथ्य बंग्याउन खोजेको दावी गरे ।
सो अवसरमा पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव के के मानन्धरले तीनकुनेमा भएका अराजक घटना स्ुनियोजित रहेको दावी गर्दै गृह प्रशासन आफ्नो दायित्वबाट चुकेको धारणा राखे ।
Categorized in राष्ट्रिय