आगामी १३ दिन भयावह हुन सक्ने डेमोक्रेट नेता न्यान्सीको भनाई
SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख र शीर्ष डेमाक्रेट नेता न्यान्सी पेलोसीले आगामी १३ दिन केही हुन्न भनेर भन्न सकिने अवस्था नरहेको भनेकी छन् ।
एक न्यूज कन्फ्रेन्समा बोल्दै सभामुख न्यान्सीले क्यापिटल्स हिल्स घटनापछि आगामी १३ दिन ट्रम्पले केही गर्दैनन् भनेर भन्न सकिने अवस्था छ र भन्दै ट्रम्पका क्याविनेट सदस्यहरुलाई प्रश्न राखिन् ।
‘जे भयो, त्यसलाई सहि मान्न सकिन्छ र ?,’ न्यान्सीको भनाईलाई बीबीसीले उद्धृत गरेको छ, ‘आगामी १३ दिनसम्म यो खतरनाक मान्छेले हाम्रो लोकतन्त्रलाई कुनै नोकसानी गर्नेछैन भन्न सकिन्छ ?’
ट्रम्पले १३ दिनपछि पदभार सुम्पिने भएपनि यो १३ दिन अझ भयावह हुनसक्ने उनले बताइन् ।
न्यान्सीले ट्रम्पको राजद्रोही क्रियाकलापका कारण हाउस उनीविरुद्ध महाभियोग लगाउन वाध्य हुनसक्ने समेत भनेकी छन् ।
डेमोक्रेट नेताहरुले लगातार आफुलाई सम्पर्क गर्दै ट्रम्पलाई कार्यालयबाट हटाउन दोश्रो प्रयास गर्नका लागि भनिरहेको न्यान्सीले खुलासा गरिन् ।
२०१९ को डिसेम्बरमा पनि ट्रम्पविरुद्ध महाभियोग लगाइएको थियो । उनीमाथि दोश्रो पटक निर्वाचनमा जित हासिल गर्न यूक्रेनसँग गलत तरीकाले मद्दत मांगेको आरोप लगाइएको थियो ।
ट्रम्पविरुद्ध फेरी महाभियोगको प्रक्रिया शुरु भएमा उनी दुई पटक महाभियोग सामना गर्ने अमेरिकाको पहिलो राष्ट्रपति हुनेछन् ।
Categorized in अन्तर्राष्ट्रिय