arin enterprises

उपत्यकामा डेंगु संक्रमण बढ्यो

SamacharDesk | २०७९ भाद्र ८, बुधबार

काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढ्न थालेको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेङ्गु ज्वरोका बिरामी बढिरहेका छन् ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो ।

त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको बताउँनुहुन्छ । त्यसपछि अहिले नै डेङ्गुका बिरामी बढेको उहाँको भनाइ छ ।

बीचका वर्षमा पनि डेङ्गुका फाट्टफुट्ट बिरामी भेटिइरहे । चिकित्सकहरुका अनुसार साउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेङ्गुको सङ्क्रमण जोखिम बढी हुने गरेको छ ।

१० हजार मानिस डेङ्गुबाट सङ्क्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ । जसमध्ये पाँच सय जना भाइरल ज्वरोले सङ्क्रमित हुन्छन् भने अर्को पाँच सयजनामा डेङ्गु ज्वरोका लक्षण देखिन्छन् ।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् ।

डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् । गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।

यस्ता लक्षण देखिएमा विरामीलाई तुरुन्तै अस्पताल भर्ना गरिहाल्नुपर्ने चिकित्सहरु बताउँछन् ।

Categorized in राष्ट्रिय