उपप्रधान एवम् गृहमन्त्री लामिछानेबाट प्रहरी प्रधान कार्यालयको निरीक्षण
SamacharDesk – बिराज | २०७९ पौष १५, शुक्रबार

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणका क्रममा मन्त्री लामिछानेले कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको दुई छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकिकरण समेत गरेका थिए ।
कार्यक्रममा मन्त्री लामिछानेले जस्तोसुकै विषम परिस्थितिमा अहोरात्र जनताको सेवामा खटिई शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आईरहेको चर्चा गरे ।
‘आवश्यकतानुसारको भौतिक संरचनाहरु छैनन, तल्लो तहका प्रहरी कर्मचारीहरु कष्ट पुर्ण तरिकाले सुत्नु परेको छ, स्केलमा पाउनु पर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ । यस्ता अवस्थाको अब अन्त गरिनुपर्छ ।’ मन्त्री लामिछानेले भने ।
प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको श्रृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न आफु सदैव तत्पर रहेको समेत लामिछानेले बताए ।
विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दीबिरुद्ध निर्मम भएर प्रहरी कारवाही गर्न समेत उहाँले निर्देशन दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहमन्त्रीको निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण लगायतका विभिन्न विषयमा प्रस्तुतीकरण दिएका थिए ।
सोही अवसरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा सम्बन्धी अनुसन्धानको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
Categorized in राष्ट्रिय