सुनसान बन्दै झलमल्ल सडकहरू
SamacharDesk – शिवेश शर्मा | २०७७ भाद्र १, सोमबार

उपत्यकाभित्रै दिनहुँ सयभन्दा बढि संख्यामा संक्रमितहरु भेटिन थालेपछि यहाँका कतिपय स्थानहरू अहिले सिल्ड अवस्थामा छन् ।
लकडाउन खुकुलो भएसँगै चहलपहल शुरु भएको यहाँका व्यापारिक क्षेत्र र सडकहरु यहाँ दिनहुँ संक्रमितको संख्या बढ्न थालेसँगै फेरी सुनसान हुन थालेका छन् ।
दिनहुँ ठुलै संख्यामा धमाधम संक्रमितहरु देखिन थालेसँगै काठमाडौंको असन, इन्द्रचोक, मखन, वसन्तपुर, पाटनको मंगलबजार, महापाल, लगनखेल आदि स्थानहरूमा मानिसहरूको आवतजावत निकै घटेको छ ।
समुदायमै संक्रमण फैलिन थालेको संकेत देखिएसँगै यसलाई भयावह स्थितीसम्म पुग्न नदिन भन्दै स्थानीय यूवा र संघसंस्थाहरु पनि भीडभाड नियन्त्रणमा सक्रिय हुन थालेका छन् ।
काठमाडौंको भीडभाड भइरहने असन, ईन्द्रचोक लगायतका भित्री वस्तीमा संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि भीडभाड हुन नदिन स्थानीय यूवाहरु फुटपाथ पसल हटाउ अभियानमा निरन्तर जुटिरहेका छन् ।
जागरुक युवा समूह नामबाट स्थानीय यूवाहरु संगठित भइ हरेक दिन विहान र बेलुका फुटपाथ पसल हटाउ अभियानमा जुटिरहेको करीब तीन महिना नै भइसकेको छ ।
त्यसैगरी पाटनमा प्रहरी र वडा नं १६ का युवाहरू मिलेर अव्यवस्थित रूपमा खोलिएका पसलहरू बन्द गराउने गरेका छन् ।
मंगलबजार प्रहरी प्रभागका प्रमुख इन्स्पेक्टर रामेश्वर त्वातीले हरेक विहान महानगरपालिकासँगको सहकार्यमा अव्यवस्थित फुटपाथ पसलहरु हटाउने गरेको बताउनुभयो ।
साथै सर्वसाधारणलाई अनावश्यक बाहिर नबस्नका लागि निरन्तर आग्रह गर्दै भीडभाड नियन्त्रणका लागि प्रहरी र स्थानीय युवाहरु सक्रिय भइरहेका छन् ।
नजिकै कोरोना संक्रमण भेटिएको कुरा फैलिएपछि दिनहुँ जसो साँझपख भीडभाड भइरहने मंगलबजार पनि केही दिनदेखि सुनसान रहेको छ।
कोरोना रोकथाम वा नियन्त्रणको लागि भ्याक्सिन वा औषधी पत्ता नलागेको अवस्थामा समाजलाई संक्रमणबाट बचाउने उपाय भनेकै सामाजिक दुरी नै हो ।
सरकारको मुख ताक्नु वा सरकारलाई गाली गरेर बस्नुभन्दा संक्रमणमुक्त समाजका लागि आफै सचेत भई सकिने योगदान गरेमा समाजलाई कोरोनाबाट बचाउन सकिन्छ ।
अरु केही गर्न नसकिए पनि अनावश्यक घरबाट ननिस्किने, अनावश्यक भेटघाट वा जमघट नगर्ने, घरबाट निस्किनै परेपनि मास्क लगाउने, कसैसँग भेटघाट गर्नैपर्ने अवस्थामा पनि कम्तीमा दुई मिटरको दुरी कायम गर्ने लगायतका सावधानी अपनाउन बिर्सिनुहुन्न ।
Categorized in समाज