आज कार्तिकनाचमा देवीनाच प्रस्तुत गरिँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक १७, बिहिबार

आज कार्तिक नाचको पाँचौ दिनमा देवी नाच प्रस्तुत गरिँदैछ । आजको प्रस्तुतिमा द्यःला नाच, कवं नाच, ख्याः नाच, भैरव कुमारी र महालक्ष्मीको नाच प्रदर्शन गरिन्छ ।
आज बेलुका ७ बजे मंगलबजारको कातिः डबलीमा देवी नृत्य प्रस्तुति सुरु हुने कार्तिक नाच प्रवन्ध समितिले जनाएको छ ।
आजको प्रस्तुतिमा कृष्णगणमा कृष्णको भुमिका कलाकार विवेक कृष्ण श्रेष्ठले निर्वाह गर्नेछन् भने रुक्मिणीमा अमित मर्हजन छन् ।
सत्यभामा मैत्री शाक्य बन्नेछन् भने जयको भुमिकामा रौनक श्रेष्ठ, विजयको भुमिकामा काव्य श्रेष्ठ रहेका छन् । यस्तै भैरवको भुमिकामा सुप्रिन्स शाक्य र बालकुमारी दिपेश चित्रकार बन्दैछन् ।
महालक्ष्मी शिव जोशी बन्दा कवं सुरेन्द्र अमात्य र ख्याः सविन मर्हजन बन्दै छ । द्यःलाद्वयको भुमिकामा भने सलिन मर्हजन र रेगन मुल्मी रहेको छ ।
देवी नृत्य पनि उषाहरण लीलामा आधारित नृत्य हो । दैत्यराज वाणासुरले अनिरद्धलाई नाग पाशले बाँधेपछि नाग पाश मोचनको लागि भैरव, कुमारी र महालक्ष्मीलाई आह्वान गर्छन् । अनिरुद्धको आह्वान पछि भैरव, कुमारी र महालक्ष्मी आइपुग्छन् ।
आजको प्रस्तुतिमा सुरुमा कृष्ण गणको नृत्य हुन्छ । त्यसपछि द्यःलाद्वयको नृत्य हुन्छ । उक्त नृत्यमा द्यःलाहरु माछा मार्दै नृत्य गर्ने गर्छन् ।
यसैक्रममा बच्चाहरुले कपडाको डल्लोको माछा बनाई द्यःलाहरुलाई जिस्काउने गर्छन् । द्यःला नृत्यपछि कवंको र ख्याः दुवैको एकल नृत्य प्रस्तुत हन्छ ।
त्यसपछि भैरव, कुमारी र महालक्ष्मी डबलीमा प्रवेश गर्छन् । त्यसपछि तलेजुका पुजारीले पूजा गरेपछि ती तीनजनाको नृत्य सुरु हुन्छ ।
देवी नाच बिगतको समयमा युद्धकला भन्दा अगाडि प्रस्तुत गर्ने गरिन्थ्यो ।
आजको दिनमा भैरव, कुमारी र महालक्ष्मी नृत्यपछि भैरवले अनिरुद्धलाई नागपास मोचन गर्न खोज्ने भैरवले नसकेपछि कृष्ण आफ्नो सेनाको साथ अनिरुद्ध समक्ष पुगी आफ्नो वाहन गरुडको सहायतामा अनिरुद्धलाई नागपासवाट मुक्त गर्ने कथामा आधारित प्रस्तुति देखाइन्थ्यो ।
यो बर्ष उषाहरण लीला प्रस्तुत नभएकोले कथाको नागपास मोचन गर्ने भाग भने देखाइने छैन ।
Categorized in संस्कृति