arin enterprises

नवनिर्मित धरहरा विहीबारदेखि निःशुल्क चढ्न पाउने

SamacharDesk | २०८१ आश्विन २, बुधबार

संविधान दिवसको अवसर पारेर सरकारले विहीबारदेखि धरहरा सर्वसाधारणका लागि खुला गर्दैछ ।

२०७२ सालको भूकम्पले ढालेको धरहराको पुनर्निर्माण पूर्ण रुपमा नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा खुल्न लागेको समाचारहरु आइरहेका छन् ।

धरहरालाई ऐतिहासिक सम्पदा भए पनि पछिल्लो पटक पुनर्निर्माण गर्दा धरहरालाई बहुउपयोगी आधुनिक भवनको रूप दिइएको छ । धरहराको तीन तलासम्म सवारी पार्किङस्थल छ ।

जसमध्ये पहिलो एक तला सर्वसाधारणका लागि पार्किङ गर्न खुला गरिएको छ । पुरानो धरहराले ओगटेको क्षेत्र विस्तार गरी गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको क्षेत्रलाई पनि एकीकृत रूपमा विकास गरिएको छ ।

नयाँ बनेको धरहरक बाहिरबाट हेर्दा पुरानै स्वरूपको ११ तला जस्तो देखिने भएपनि भित्री संरचना २२ तलाको छ । धरहरामुनि तीन तले भूमिगत पार्किङ बनेको छ । यहाँ प्रशासनिक भवन र संग्रहालय तथा बगैंचा समेत बन्दैछ ।

अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको जनाइएको छ । धरहरा चढ्न अनलाइन बुकिङ गर्नुपर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले बताएका छन् ।

जस अनुसार क्यूआर र वेबसाइट सार्वजनिक गरेर अनलाइन बुकिङ मार्फत धरधहरा सर्वसाधारणले चढ्न पाउँछन् । धरहरा दिनको ५ सय जनालाई मात्र चढ्न पाउने जनाइएको छ ।

४ सय जना अनलाइन बुकिङ मार्फत टाइम लिएर निःशुल्क चढ्छन भने बुढाबुढी र फरक क्षमता भएका सुरुका १ सय जनालाई धरहरा परिसरमै पासको व्यवस्था गरिएको परियोजना प्रमुख कोषनाथ अधिकारी बताउँछन् ।

उहाँका अनुसार टिकट बुकिङका आधारमा प्रत्येक आधा घण्टादेखि एक घण्टाको ग्याप बनाएर १ सय जनालाई प्रवेश दिन्छौं, त्यसको अर्थ एउटा टोली ओर्लने बेला अर्को टोली उक्लियोस् भन्ने हो ।’

भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।

Categorized in राष्ट्रिय