arin enterprises

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा ‘ध्ये ड्रीम्स्’ उत्कृष्ट

SamacharDesk – बिजयरत्न | २०८० चैत्र १०, शनिबार

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३औं संस्करणमा वृत्तचित्र ‘ध्ये ड्रीम्स्’ ले उत्कृष्ट चलचित्रको  उपाधी जितेको छ ।

फेस्टीभलको १३औं संस्करणका लागि गरिएको लघु चलचित्र प्रतिस्पर्धामा शान्ता नेपालीद्वारा निर्देशित उक्त चलचित्रलाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै स्वयम् मास्के मानन्धरबाट निर्देशित लघु चलचित्र ‘द बुल, द काउ, द काल्फ’ लाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको छ ।

चलचित्र महोत्सवको शनिवार साँझ भएको समापन समारोहमा डेलिगेशनकी उपराजदूत डा जोएल इभोनेट्ले पुरस्कृत चलचत्रकर्मीहरुलाई अवार्ड प्रदान गरेका थिए ।

विजेता चलचत्रिकर्मीहरुलाई यसै वर्ष ब्रसेल्स्मा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागी समेत गराइने बताइएको छ ।

महोत्सवमा गोपाल आचार्य निर्देशित डिभिनेसन् (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान प्रदर्शन गरिएको थियो ।

साथै रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित फेरा पनि फेस्टीभलका सहभागी चलचित्रहरु हुन् ।

फेस्टिभलको १३औं संस्करण काठमाडौंमा गत चैत्र ७ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो । फेस्टिभलमा ९ युरोपेली चलचित्र तथा प्रतिस्पर्धामार्फत छानिएका ११ नेपाली लघु चलचित्र प्रदर्शन गरिएका थिए ।

महोत्सव २०८० चैत्र २८ र २९ (अप्रिल १० र ११) गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुने बताइएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशको नेपालगञ्जमा २०८१ वैैशाख ३ गते (अप्रिल १५), कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा २०८१ वैशाख ७ र ८ गते (१९ र २० अप्रिल) महोत्सवको आयोजना हुनेछ ।

Categorized in पेजथ्री