arin enterprises

वीर गणेशमानका निर्देशक नेपाली काँग्रेसमा प्रवेश

SamacharDesk – बिराज | २०७७ फाल्गुण ३, सोमबार

गणेशमान सिंह, जन आन्दोलन २०४६ का कमाण्डर, नेपालका सर्वमान्य नेता, नेपाली काँग्रेसका प्रभावशाली नेता । उनको बायोपिक अर्थात उनको जीवनीमा आधारित चलचित्र पनि बनेको थियो, ‘वीर गणेशमान’ ।

नेपाली काँग्रेसका नेता गणेशमान सिंहको जीवनीमा आधारित उक्त चलचित्रका निर्देशक विजयरत्न तुलाधर अहिले नेपाली काँग्रेस पार्टीमै प्रवेश गरेका छन् ।

चलचित्र निर्देशक साथमा वरिष्ठ सिने पत्रकार तुलाधरको साथमा नेपाली चलचित्र जगतका दुई दर्जन लब्ध प्रतिष्ठित चलचित्रकर्मीहरु शनिबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

‘वीर गणेशमानका निर्देशक नेपाली काँग्रेसमा प्रवेश, यो विषय संयोग हो अथवा योजनावद्ध नै थियो ?’ हामीले उनलाई प्रश्न गर्यौं ।

‘सिद्धान्ततः म प्रजातान्त्रिक विचारधाराकै मान्छे हुँ, त्यसैले पनि गणेशमानको जीवन राम्ररी बुझेको भएकोले वीर गणेशमान चलचित्रको निर्देशन गरियो’ तुलाधरले भने ।

तुलाधरले अझ थपे, ‘विचार मिल्ने धेरै साथीहरु यसै पार्टीमा छन्, पहिचानको सम्मान गर्ने प्रजातान्त्रिक विचारधारा भएको, विचार र मन मिल्ने थुप्रै साथीहरु भएकोले पनि यसै पार्टीमा प्रवेश गरियो ।’

दुई दर्जन चलचित्रकर्मी काँग्रेसमा प्रवेश

नेपाली काँग्रेस सूचना तथा सञ्चार प्रसार विभागअन्तर्गत टेलिभिजन उपसमितिको संयोजकत्वमा फिल्मकर्मी नीर शाहको अगुवाईमा शनिबार भएको कार्यक्रममा तुलाधर लगायत दुई दर्जन चलचित्रकर्मीले पार्टी प्रवेश गरेका हुन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा देउवाले सबैलाई फुलमालाको टिका लगाइदिनुका साथै सदस्यता पत्र समेत प्रदान गर्दै पार्टीमा स्वागत गरे ।

सो अवसरमा सभापति देउवाले देश निर्माणमा कलाकारको योगदान महत्वपूर्ण हुने बताए । कार्यक्रममा पूर्व सह–महामन्त्री डा.प्रकाशशरण महतको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाली काँग्रेसको ठुलो भुमिका रहेको बताउँदै पहिलो चलचित्र सत्य हरिश्चन्द्रका निर्देशक डि बि परियार त्यतिबेला नेपाली कांग्रेस का उप महामन्त्री समेत रहेको स्मरण गरे ।

पार्टी प्रवेश कार्यक्रमको आयोजना चलचित्र निर्देशक समाजका महासचिव तथा टेलिभिजन उपसमितिका सदस्य सचिव जनकदीप पराजुली र उपसमितिका सदस्यहरु कलाकार सुशान्त श्रेष्ठ, चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई र नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरेका थिए ।

नेपाली काँग्रेस प्रवेश गर्ने चलचित्रकर्मीहरु

सन्तु तामाङ (वरिष्ठ मेकअप आर्टिस्ट)

एनबी महर्जन (अग्रज द्वन्द्व निर्देशक)

विजयरत्न तुलाधर (निर्देशक, अग्रज चलचित्र पत्रकार)

रक्षासिंह राणा (अध्यक्ष, नेपाल चलचित्र निर्देशक समाज)

गोपालकाजी कायस्थ उपमहासचिव–नेपाल चलचित्र संघ, फिल्म वितरक)

मिलन सुवेदी (निर्माता तथा निर्माण नियन्त्रक)

अभिमन्यु निरबी (स्क्रीप्ट राइटर)

दीपज्योति थापा (उपाध्यक्ष–चलचित्र पत्रकार संघ नेपाल)

प्रभाकर श्रेष्ठ (निर्माता तथा कलाकार)

सुनिल श्रेष्ठ (निर्माता तथा कलाकार)

राजु अर्याल (निर्देशक)

सबिन श्रेष्ठ (कलाकार)

दिनेश श्रेष्ठ (कलाकार)

Categorized in पेजथ्री