arin enterprises

विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थाहरूसँग छलफल

SamacharDesk – बिजयरत्न | २०८१ श्रावण १२, शनिबार

प्रत्येक वर्ष अगस्ट ९ तारीखको दिनमा मनाउँदै आएको विश्व आदिबासी दिवस यस वर्ष भव्य रुपमा मनाउन विभिन्न जातीय संघसंस्थाहरूसँग छलफल भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अगस्ट ९ का दिन विश्व आदिवासी दिवसको ३०औं संस्करण मनाउने सन्दर्भमा महासंघमा आबद्ध जातीय संघसंस्थाहरूसँग छलफल गरेको हो ।

नेफिनको बैठकले यस वर्षको दिवसको लागि नारा तय गरेको महासंघका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।

वैठकले यस वर्ष दिवसको लागि ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर !!’ भन्ने मूल नारा तय गरेको हो ।

यस वर्षको दिवसको लागिसंयुक्त राष्ट्र संघले भने “Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Intial Contact” मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउने तयारी गरिएको जानकारी वैठकमा दिइएको थियो ।

अगस्ट ९ का दिन मूल समारोहको आयोजना गरी भव्य रूपमा आदिवासी दिवस मनाउने तयारी गरिएको नेफिनका महासचिव दिवश राईले जानकारी दिए ।

नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषा, सांस्कृतिक झाँकीसहितको र्‍यालिको आयोजना गर्ने महासंघले जनाएको छ ।

त्यस अवसरमा जनजातिहरूको विभिन्न मौलिक खानपिनको प्रदर्शनी तथा बिक्री वितरण स्टल समेत राखिने बताइएको छ ।

महासंघले आदिबासी दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन आ–आफ्नो जातीय संस्थामार्फत तय गरिएका कार्यक्रमहरूका बारेमा महासंघलाई जानकारी दिन समेत आग्रह गरेको छ ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले मूल समारोहका दिनमा आ–आफ्नो पहिचान झल्किन झाँकीसहित धेरै भन्दा धेरै सहभागिता जनाउने गरी तयारी गर्न आग्रह गरे ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने गरेका छन् ।

संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

Categorized in समाज