arin enterprises

के साँच्चिकैमा मेघमल्हार राग गाउँदा पानी पर्छ

SamacharDesk – राजेश बज्राचार्य | २०७७ जेठ २४, शनिबार

‘मेघमल्हार राग गाउँदा पानी पर्छ ।’ यो मान्यता ललितपुरेको मात्र होइन, संगीतमा विश्वास राख्ने संगीतकर्मी वा संगीतप्रेमी सबैको हो । जब जब मेघमल्हार राग गाइन्छ, तब तब पानी पर्छ नै रे । विशेष गरी यहि मान्यतासँग जोडिएका थुप्रै किम्वदन्ती, सामाजिक कथनहरु भारत र नेपालमा सुन्न पाइन्छ ।

अझ विशेष गरी नेपालमा ललित कलाको अनुपम नमूनाले सम्पन्न नगरी ललितपुरमा त मेघ मल्हार रागसँग जोडिएको साँस्कृतिक चलन अद्यापि जीवितै छ । हरेक वर्ष जेष्ठ शुल्क पुर्णिमाको दिन ललितपुरको मंगलबजारमा मल्लकालीन राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्श गर्ने गरिन्छ । त्योसँगै सिद्धिनरसिंह मल्लको पौभाः समेत प्रदर्शन गरिन्छ ।

नेपाल संवत ७८७ उल्लेख रहेको उक्त सिंहासन राजा श्रीनिवास मल्ललाई ललितपुरको ओकुबहालका कलाकार जोधाजु शाक्यले उपहार स्वरुप प्रदान गरिएको मानिन्छ । 

यो सिंहानसलाई मल्ल राजाहरुको प्रतिकका रूपमा प्रदर्शन गर्ने गरिएको भनाई पनि छ भने प्रजाबाट उपहार स्वरुप प्राप्त सिंहासन सुरक्षित राखिएको प्रमाण स्वरुप यस्तो चलन चलाइएको पनि कथन समाजमा छ । 

यहि सिंहसनसँगै राजा सिद्धिनरसिंह मल्लले बनाएको मानिने पौभाः चित्र पनि हरेक बर्ष मंगलबाजरको कृष्ण मन्दिर अगाडि सजाइन्छ । सोही समयमा उनै मल्ल राजा सिद्धिनरसिंह मल्लबाट रचित ३२ वटा दाफा भजन गाउने चलन पनि रहेको छ । पौभाः चित्रमा तिनै दाफा भजनका शब्दहरुलाई चित्रमा प्रस्तुत गरिएको भनिन्छ । 

ज्याःपुन्हिमा गाइने ३२ राग मध्ये एक राग मेघ मल्लार गाएपछि यो दिन जलबृष्टि हुन्छ भने जनबिश्वास रहिआएको छ ।

यसलाई संजोग मानौं व साँच्चिकैमा रागकै प्रभाव काठमाडौंमा हिजो राग मेघ मल्लार गाइयो भने हिजो दिनभर पानी परि नै रह्यो । अझ विस्तारै पानी पर्ने क्रम त अस्तिको दिनबाटै शुरु भयो ।

‘हरेक बर्ष यो दिन दिनभरी रागहरुको प्रदर्शनका क्रममा राग मल्हार प्रस्तुतिपछी दिउँसो वा साँझदेखि पानी पर्ने गथ्र्यो’ कार्तिक नाच प्रबन्ध समितिका किरण शाक्यले बताए, ‘यसपटक भने हिजो राती ३ बजेदेखिनै पानी परेको पाएँ ।’ 

रोपाईंका लागि आवश्यक जलबृष्टीकालागी नै मल्ल राजाले यी ३२ रागहरु सृजना गरेको मानिन्छ ।

अन्तर्राष्ट्रिय रुपमा ईश्वी संवत (सूर्य मान) को अनुसार जून २१ लाई सबभन्दा लामो दिन मान्ने गरिन्छ । तर नेवाः तिथि परम्परा (चन्द्र मान) अनुसार जेष्ठ पूर्णिमाको दिनलाई वर्षको नै सबभन्दा लामो दिन मानिन्छ । 

जेष्ठ पूर्णिमा ‘ज्याः पुन्हि’का दिन ३२ राग सहित दिनभर संगीत प्रस्तुतिको ईतिहास सदियौं पुरानो रहेको छ

जून २१ लाई अन्तर्राष्ट्रिय संगीत दिवसका रूपमा मान्ने प्रचलन केही दशकदेखि शुरू भएको देखिन्छ भने जेष्ठ पूर्णिमा ‘ज्याः पुन्हि’का दिन ३२ राग सहित दिनभर संगीत प्रस्तुतिको ईतिहास सदियौं पुरानो रहेको छ । 

यो दिन आफ्नो पेशागत श्रम वा काम दिनभरी गर्न नहुने र गरेमा बर्षभरीनै बिना विश्राम काम गर्नुपर्ने हुन्छ भन्ने जनबिश्वास रहेको स्थानियहरु बताउँछन । 

सिंहासन र पौभा प्रदर्शनीसँगै राग प्रस्तुतिका लागि कार्तिक नाच प्रबन्ध समितिको ब्यवस्थापनमा प्रहरी प्रभाग मंगलबजारका सुरक्षाकर्मीहरुको समेत उपस्थितिमा दर्शकहरुबीचको भौतिक दूरीलाई कायम गरिएको समितिका शाक्यले बताए । 

लकडाउनको समस्याबीच पनि आफ्नो संस्कृती र मौलिक परम्परालाई लोप हुन नदिन निरन्तरता दिइएको उनले जानकारी दिए । 

यस वर्ष परिस्थितिलाई ध्यानमा राख्दै करीब ३ घन्टामात्रै रागहरुको प्रस्तुती गरिएको थियो ।

यो पनि पढ्नुहोला –लकडाउनले रोकेन श्रीनिवास मल्लको सिंहासनलाई

 

 

Categorized in विचार