arin enterprises

पहिलो खोप टेकु अस्पतालका निर्देशक राजभण्डारीले लिए

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ १४, बुधबार

प्रधानमन्त्रीबाट भर्च्युअल रुपमा खोप अभियानको शुभारम्भसँगै नेपालमो कोरोनाविरुद्धको खोप वितरण आजबाट शुरु भएको छ ।

खोप वितरणको क्रममा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकुबाट लिनुभएको छ ।

खोपको विषयमा विभिन्न आशंकाहरु देखिरहेको परिस्थितीमा खोप सुरक्षित छ भन्ने सन्देश दिन आफुले खोप लिएको डा. राजभण्डारीले बताउनुभयो ।

आज काठमाडौं उपत्यकाका १७ साथमा देशका ६६ वटा जिल्लामा एक सय २० वटा खोप केन्द्रबाट खोप वितरण भइरहेको छ । आउँदो १८ गतेबाट ७७ जिल्लाको ३ सय वटा खोप केन्द्रबाट खोप वितरण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियानको शुभारम्भको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो ३ महिनाभित्रमा सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने लक्ष्य नेपाल सरकारले लिएको बताउनुभएको थियो ।

पहिलो चरणको खोप वितरण अन्तर्गत प्रत्यक्ष उपचारको साथमा खोप व्यवस्थापनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स र शव बाहनका चालक, सहचालक, सुरक्षाकर्मी, फोहर व्यवस्थापनमा खटिने संकलक, चालक, सहचालकलाई खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप वितरण आउँदो १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ । पहिलो चरणमा ४ लाख ३० हजार खोप दिने मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप गत माघ ८ गते नेपाल ल्याइएको थियो । 

Categorized in राष्ट्रिय