arin enterprises

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.रुइत इसा अवार्डबाट सम्मानित

SamacharDesk – Ram Dangol | २०७९ माघ ४, बुधबार

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत विश्वकै प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनुभएको छ ।

बहराइनका पूर्व राजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यसबर्ष डा. सन्दुक रुइतलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी १० लाख अमेरिकी डलर अर्थात १३ करोड नेपाली रुपैयाँ बराबर रहेको छ ।

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत अवार्ड प्राप्त पश्चात नेपाल फर्केलगत्तै बुधवार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताउनु भयो ।

उहाँले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इशा अवार्डलाई हेरेको बताउनु भयो । उहाँले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताउनु भयो । उहाँले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर बिस्तार गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई नै राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए । सोही प्रसंगमा डा. रुइतले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभयो ।

उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताउनु भयो । उहाँले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरु रहेको पनि बताउनु भयो ।

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्राप्त गरेको इसा अवार्ड शेख इसा बिन सलमान अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ नामक संस्थाले सन् २०१३ देखि हरेक बर्ष मानव कल्याणको क्षेत्रमा क्रियाशिल ब्यक्ति वा संस्थालाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

खाडी मुलुक बहराइनको राजधानी मनामामा आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदश्य शेख मोहमद बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लगि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्ड प्रदान गरिएको हो ।

यस पटक अवार्डका लागि शुरुमा १४५ ब्यक्ति तथा संस्था मनोनयमा परेका थिए । उनीहरु मध्ये ६ ब्यक्ति संस्थालाई सर्टलिस्ट गरिएको थियो ।

सर्टलिस्ट प्रकाशितपछि अवार्ड छनोट समिती सदस्य तथा अनुसन्धानकर्ताहरुले सम्बन्धित देशमा स्थलगत भ्रमण गरी कामको जानकारी लिएपछि डा. रुइत छनोट हुनुभएको हो ।

डा.रुइतले मोतिबिन्दु उपचार गर्ने सरल विधि विकास गर्नुभएको थियो । उहाँले इन्ट्राअकुलर लेन्स बिकास गरी सुलभ दरमा उपलब्ध गराउनु भएको थियो ।

Categorized in राष्ट्रिय