कामपामा सुकुम्वासी समस्या समाधान गर्ने डा. सैंजुको दावी
SamacharDesk – बिराज | २०७९ बैशाख २३, शुक्रबार

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगर प्रमुख पदका लागि नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार डा. विजय प्रकाश सैंजुले काठमाडौंमा सुकुम्वासी समस्या समाधान गरिदिने दावी गरेका छन् ।
नेपाः राष्ट्रिय पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका डा. सैंजुले आज काठमाडौंमा प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्दै महानगरको अव्यवस्थित आप्रवासनको समस्यालाई व्यवस्थित बनाउने बताए ।
विकासको बाटोमा डोर्याउँदै काठमाडौं महानगरको मुहार फेर्नकै लागि आफुले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको सैंजुले बताए ।
सो अवसरमा उनले काठमाडौंमा विकासको नाममा विनास हुँदै गरेको दावी गर्दै यस किसिमका विनास तत्काल रोक्ने र डोजर आतंक बन्द गरी महानगरवासीलाई राहत दिने वचन पनि दिए ।
‘यहाँ विकासको नाममा जथाभावी डोजर चलाउने र घर मात्र होइन, पाटी, मन्दिरसम्म भत्काउने काम हुँदैछ । यस्तो विनासलाई तत्काल रोक्नेछु र स्थानीय सम्पदा, संस्कृतिको संरक्षणमा जोड दिनेछु’ सैंजुको भनाई हो ।
सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाई पार्टीलाई पुनर्जीवन दिएर आएपछि आफु नयाँ जोश, उत्साह र योजनाका साथ चुनावी मैदानमा उत्रेका पनि उनले बताए ।
निर्वाचन आयोगले लेखा परिक्षण प्रतिवेदन बुझाउनुपर्नेलगायतका प्रक्रिया पूरा नगरेको भन्दै नेपाः राष्ट्रिय पार्टीसँगै विभिन्न पार्टीलाई खारेज गरेको थियो ।
आयोगको निर्णयविरुद्ध डा.सैंजुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए भने सर्वोच्चले आयोगको यो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
‘पहिचानको मुद्दालाई दबाउन नै विभिन्न बहानामा हाम्रो पार्टी खारेज गर्न खोजिएको थियो, जुन सफल हुन सकेन । अब हामी झन सशक्त ढङ्गले नयाँ जोश र उत्साहका साथ अगाडी आएका छौं । हामी आफ्ना हरेक प्रतिवद्धता पूरा गर्नेछौं’ सैंजुले भने ।
आफुले चुनाव जितेमा निःशुल्क र अनिवार्य शिक्षा, माृतभाषा शिक्षा, निःशुल्क स्वास्थ्य परिक्षण र निःशुल्क औषधीको पहुँच बनाउने लगायतका प्रतिवद्धता सैंजुले व्यक्त गरेका छन् ।
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. सैंजु खड्ग चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
Categorized in स्थानीय