अब ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरण दस्तुर अनलाइनबाटै तिर्न मिल्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २५, बिहिबार

अबदेखि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ ।
यो सेवा पहिलो चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट सञ्चालन हुन लागेको हो ।
बिहीवार एक कार्यक्रम गर्दै अनलाइन माध्यमबाट राजस्व भुक्तानी गर्न सकिने सेवाको उद्घाटन गर्न लागेको यतायात कार्यालयले जनाए ।
कार्यालयका अनुसार दोस्रो चरणमा उपत्यकाका यातायात व्यवस्था कार्यालय र तेस्रो चरणमा देशैभर यो सेवा लागू हुनेछ ।
सवारी चालक अनुमति पत्रका लागि व्यक्ति आफैंले अनलाइन फाराम भरेजस्तै रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ ।
नयाँ फाराम भरिसकेपछि बुझाउनुपर्ने रु ५००/– अनलाइन प्रणालीबाटै भुक्तानी गर्न सकिनेछ र त्यसको केही समयपछि ट्रायल पास भइसकेका सेवाग्राहीको रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने कामको पनि तयारी भइरहेको कार्यालयले जनाएको छ ।
तर, बायोमेट्रिक्स र मेडिकलका लागि भने सेवाग्रहीहरु कार्यालयमै उपस्थित हुनुपर्ने हुन्छ ।
अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने सेवा सुरु भएपछि कार्यालयमा कामको भार ५० प्रतिशतले घट्ने विश्वास गरिएको छ ।
Categorized in राष्ट्रिय