arin enterprises

दुवबईमा भारी वर्षाबाट जनजीवन अस्तव्यस्त, २० को मृत्यु

SamacharDesk | २०८१ बैशाख ६, बिहिबार

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईलगायत क्षेत्रमा भारी वर्षा भएपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

बीबीसीका अनुसार ओमान, बहराइनलगायत मुलुकमा पनि छोटो समयमा भारी वर्षा भएको छ । वर्षाका कारण ओमानमा कम्तीमा १९ जना र युएईमा एक जना गरी २० जनाको मृत्यु भएको छ ।

भीषण वर्षापछि सडक र विमानस्थलमा समेत पानी जम्दा उडान र अवतरणमा समेत समस्या आएको थियो । भारी वर्षाका कारण यूएई, ओमानलगायत क्षेत्रका स्कुल, कलेजहरू बन्द गरिएको छ ।

त्यस्तै बाढीका कारण घरहरू, व्यापारिक मलहरू जलमग्न भएका छन् । विशेषज्ञहरूले जलवायु परिवर्तन, भौगोलिक विषमता र क्लाउड सिडिङका कारण भीषण वर्षा हुन पुगेको बताएका छन् ।

युएईसहितका खाडी क्षेत्रमा वर्षमा केबल १–२ पटक मात्रै वर्षा हुने गर्छ । युएईले वर्षा बढाउन अक्सर क्लाउड सिडिङको तरिका अवलम्बन गर्दै आएको छ ।

अरब प्रायद्वीप र ओमानको खाडीमाथिबाट जाने साउदर्न जेट स्ट्रिमबाट पनि वर्षा हुने गर्छ । यससँगै क्लाउड सिडिङको प्रभाव, समुद्रको वाष्पीकरण बढिरहँदा अधिक वर्षा हुन पुगेको विशेषज्ञहरुको भनाई छ ।

अल अइन र इमिराती ओयसिसजस्ता ओमानको सीमा क्षेत्रका सहरमा २५४ मिलिमिटरसम्म वर्षा भएको थियो । जुन सन् १९४९ पछिकै सबैभन्दा भीषण हो ।

युएईमा भारी वर्षा भएमा त्यसको निकासा हुने आधारभूत संरचनाको अभावका कारण पनि सडक डुबानमा परेका जनाइएको छ ।

जसका कारण मानिसहरू एक किलोमिटर लामो ट्राफिक जाममा फस्न पुगेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय