प्राधिकरणले काट्न थाल्यो बक्यौता रकम नतिर्नेको लाइन
SamacharDesk | २०८१ कार्तिक ९, शुक्रबार

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता रकम नबुझाएकोमा ४३ उद्योगको विद्युत लाइन काटिदिएको छ ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीहरुको लाइन प्राधिकरणले फेरी काट्न सुरु गरेको हो । हिजो वेलुका ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको बताईएको छ ।
लाइन काटिने उद्योगहरुमा अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एस.आर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिलको लाइन काटिएको स्रोतले जनाएको छ ।
साथै जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताउनुभएको थियो ।
मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएन । त्यसलगत्तै उहाँले लाइन काट्न शुरु गर्नुभएको हो ।
प्राधिकरणले यस अघि गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन कात्तिक ८ गतेसम्मको समय दिएको थियो ।
प्राधिकरणले दिएको म्यादभित्र बक्यौता भुक्तानी नभएपछि लाइन काट्न थालिएको हो ।
Categorized in बिजनेस