दरबार हत्याकाण्ड २३ वर्ष पुग्यो
SamacharDesk | २०८१ जेठ १९, शनिबार

नारायणहिटी दरवार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ ।
संसारै चकित हुने गरी वि.सं. २०५८ सालमा तिथिको हिसाबले जेठ शुक्ल दशमी र गतेका हिसाबले जेठ १९ भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, नवयुवराज निराजन, अधिराजकुमारी श्रृति, पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो ।
नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो ।
उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो । अधिकांश नेपालीले यो प्रतिवेदनमाथि शंका गर्दै फेरि निष्पक्ष आयोग बनाएर घटनाबारे छानविन गर्नुपर्ने बताउँदै आएका छन् ।
दरवार हत्याकाण्ड पछि नेपालमा २०६२/६३ सालको जनआन्दोलन भयो । देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भइसक्यो । नेपाल सरकारको नेतृत्वमा निकै फेरबदलहरु भइसक्यो थुप्रै नेताहरु सत्तामा पुगे, मन्त्री, प्रधानमन्त्री भए ।
नयाँ दल र नेता सत्ताको नेतृत्वमा पुग्दा जेठ १९ गते आएपछि दरवार हत्याकाण्डको निष्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाउँछन्, दरवार हत्याकाण्डको रहस्योद्घाटन गर्ने उद्घोष गर्छन् ।
तर आजको दिनसम्म्म पनि दरवार हत्याकाण्डको तथ्य रहस्यको गर्भमै लुकेर बसेको छ ।
Categorized in राष्ट्रिय