महाभूकम्प गएको सम्झना
SamacharDesk | २०८० बैशाख १२, मंगलबार

आज वैशाख १२ गते अर्थात् २०७२ सालको महाभूकम्प गएको दिन ।
गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको ८ वर्ष पूरा भएको छ । वैशाख १२ को भूकम्प र निरन्तरको पराकम्पनका बीच बैशाख २९ गतेको अर्को ठूलो झड्काले देशैभर ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।
चौध जिल्लामा गरी करीब ८ हजार बढी मानिसको ज्यान गएको थियो भने २२ हजार बढी घाइते भएका थिए । भौतिक संरचनामा पनि अभूतपूर्व क्षति भयो । भूकम्पले ९ लाख घर ध्वस्त भए । भूकम्पपछि सरकारले राष्टिय योजना आयोगको अगुवाइमा तथ्यांक संकलन गर्यो ।
महाभूकम्प गएको आठ वर्षमा अधिकांश पुनर्निर्माणका काम पूरा भइसकेको सरकारी दाबी छ । पुनर्निर्माणको काम लगभग पूरा भएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ०७८ सालमै विघटन गरियो ।
धरहरा, बसन्तपुर दरबार, काष्ठमण्डप लगायतका सम्पदाको पुुननिर्माण भईसकेको छ । केही सम्पदा क्षेत्रको पुननिर्माण भने अझै सकिएको छैन । सरकारी तथ्यांकमा निजी आवासतर्फ पनि पुनर्निर्माणको काम पूरा भएको छ ।
तर आठ लाख ३२ हजार पाँच सय ८२ लाभग्राहीसँग सरकारले आवास निर्माणका लागि अनुदान सम्झौता भएकोमा ७ लाख ३३ हजार दुई सय १४ लाभग्राहीले मात्रै सम्झौता अनुसार निजी आवास निर्माण सम्पन्न गरेका छन् ।
९९ हजार दुई सय ५६ लाभग्राहीले भूकम्पमा ध्वस्त घर अझै बनाएका छैनन् । निजी घर निर्माणका लागि आठ लाख ३२ हजार चार सय ७० ले पहिलो किस्ता वातपको ५० हजार लिएकोमा ६६ हजार ६ सय नौ लाभग्राहीले दोस्रो किस्ता वापतको रकम नलिएको भवन विभाग अन्तर्गत केन्द्रीय योजना कार्यान्वयन एकाइले जनाएको छ ।
निजी आवसतर्फको पुनर्निर्माण असफल भएको टिप्पणी अहिले गर्ने गरिएको छ । सरकारले डिजाइन गरेको भूकम्प प्रतिरोधी घरले सर्वसाधारणको आवश्यकता पुरा नहुँदा निजी आवासतर्फको पुनर्निर्माण असफल भएको हो ।
त्यस्तै सरकारले बनाएका सामूहिक आवसमा पनि मानिसहरु बसेका छैनन् । जुन फजुल खर्च मात्रै भएको छ । सरकारले अहिलेसम्म पुनर्निर्माणमा करीब ४ खर्ब रुपैयाँ खर्च भएको दाबी गरेको छ ।
यद्यपी अहिले उपत्यका भित्री बस्तीहरुमा अहिले पनि भुकम्पबाट भत्केका कतिपय घरहरु टेकोकै भरमा रहेको देख्न सकिन्छ । उता, महाभूकम्पको केन्द्रविन्दू रहेको गोरखाको बारपाकमा भूकम्प स्मृत उद्यान बनाउन लागिएकोमा त्यो पनि अलपत्र अवस्थामा छ ।
०७४ सालमा साढे दुई वर्षमा सम्पन्न गर्ने गरी गरिएको ठेक्काको पाँच पटक म्याद थप्दा पनि भूकम्प स्मृति उद्यान सम्पन्न हुन नसक्नुले पुनर्निर्माणको कमजोर पाटोलाई थप उजागर गर्दछ ।
Categorized in राष्ट्रिय