arin enterprises

महाभूकम्प गएको ९ वर्ष पूरा

SamacharDesk | २०८१ बैशाख १२, बुधबार

आज बैशाख १२ । २०७२ सालमा महाभूकम्प गएको ९ वर्ष पूरा भएको छ ।

आजको दिन गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७।८ म्याग्नेच्युडको भूकम्प गएको थियो । चौध जिल्लामा गरी करीब ८ हजार बढी मानिसको ज्यान गएको थियो भने २२ हजार बढी घाइते भएका थिए ।

भौतिक संरचनामा पनि अभूतपूर्व क्षति भएको थियो भने ९ लाख घर ध्वस्त भएका थिए । वितेका ८ वर्षमा सरकारले अधिकांश ब्यक्तिगत घरहरुको पुनर्निर्माण गरेको छ भने, बसन्तपुर दरबार, काष्ठमण्डप लगायतका सम्पदाको पनि पुुननिर्माण गरिएको छ ।

महाभूकम्प गएको आठ वर्षमा अधिकांश पुनर्निर्माणका काम पूरा भइसकेको सरकारी दाबी छ । पुनर्निर्माणको काम लगभग पूरा भएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ०७८ सालमै विघटन गरिसकेको छ ।

तथ्यांक अनुसार आठ लाख ३३ हजार आठ सय २१ लाभग्राहीसँग सरकारले आवास निर्माणका लागि अनुदान सम्झौता भएकोमा ७ लाख ४१ हजार सात सय ९८ लाभग्राहीले मात्रै सम्झौता अनुसार निजी आवास निर्माण सम्पन्न गरेका छन् ।

सरकारले १९ वटा जिल्लामा एकीकृत नमुना बस्ती निर्माण पनि गरेको छ । महा भूकम्पपछिको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ ।

तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन बाँकी छन् भने सिंहदरबार र धरहराजस्ता ऐतिहासिक संरचना निर्माण पनि अधुरै छन् ।

अहिले पनि उपत्यका भित्री बस्तीहरुमा भुकम्पबाट भत्केका कतिपय घरहरु टेकोकै भरमा रहेको देख्न सकिन्छ ।

Categorized in राष्ट्रिय