भुकम्पपीडितहरुको उद्धारका लागि सबै क्षेत्रबाट हातेमालो
SamacharDesk – Ram Dangol | २०८० कार्तिक १८, शनिबार

शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्बाट पीडितहरुको राहतका लागि सरकारले ५÷५ करोड ती जिल्लाहरुमा पठाउने निर्णय गरेको छ । सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँचरपाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतकालागि तत्काल ५० लाख रुपैया दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितको उद्धार र राहतको व्यवस्था तत्काल मिलाउन सरकारसंग आग्रह पनि गर्नुभएको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
उता बागमती प्रदेश सरकारले कर्णाली प्रदेश सरकारमार्फत भूकम्पबाट प्रभावित नागरिकको तत्काल प्रभावकारी उद्धार, राहत र उद्धार र पुनर्निर्माणका लागि एक करोड ५० लाख रुपियाँ सहयोग उपलब्ध गराउने भएको छ ।
नेपाल टेलिकमले पनि भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ । टेलिकमले फोन र एसएमएस पाँच दिनका लागि निःशुल्क व्यवस्था गरेको हो ।
यता एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने भएका छन् ।
सरकारले तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले निस्शुल्क बसको व्यवस्था गरिएको हो । घर जानेहरूले मदन थापा ९९८४०२६६७९७० लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी गरेको छ ।
भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद १० लाख रुपिँयासहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाएको छ ।
भूकम्पबाट पीडित परिवारलाई राहत प्रदान गर्न नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरसमितिले आज शनिबार बिहान एकसय ५० बोरा चामल सङ्कलन गरेको छ । सङ्कलन कार्य अझै जारी राखिने र सङ्कलन गरिएको राहत सामग्रीलाई सरोकारवाला निकायसँग समन्वय गरी एकमुष्ट राहत हस्तान्तरण गरिने जनाएको छ ।
नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।
भुकम्प प्रभावित क्षेत्रको उद्धारका लागि स्वदेशीले मात्र नभई विदेशबाट पनि सहयोगहरु प्राप्त हुने क्रम जारी छ ।
जस अन्तर्गत चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।
Categorized in राष्ट्रिय