arin enterprises

भुकम्पमा परी मृत्यु हुनेहरुको संख्या १५७ पुग्यो

SamacharDesk – Ram Dangol | २०८० कार्तिक १९, आइतबार

जाजरकोटमा  भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । मध्य राती मस्त निद्राको समयमा भूकम्प जाँदा जाजरकोट र छिमेकी जिल्ला पश्चिम रुकुममा ठूलो मानवीय क्षति पुर्यायो ।

मृत्यु हुनेहरुमा जाजरकोटमा १०५ र पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा अधिकांश महिला रहेका छन् भने बालबालिकाको संख्या पनि उल्लेख्य छ । जाजरकोटमा ६२ जना महिला र ३३ पुरुषको मृत्यु भएको छ भने पश्चिम रुकुममा २७ महिला र २५ पुरुषको मृत्यु भएको पनि प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

रुकुममा ज्यान गुमाउनेहरुमा अधिकांश बालबालिका रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रुकुम पश्चिममा अहिलेसम्म पहिचान भएकामा २४ जना बालबालिका रहेको पनि प्रहरीले जनाएको छ ।

भूकम्पमा परी घाइते हुनेको संख्या १९७ रहेको छ । घाइतेहरु मध्ये जाजरकोटमा १०५, रुकुममा ८५, दैलेख र बैतडीमा तीन तीन जना र रोल्पामा एक जना रहका छन् ।

मध्य राती भएकाले भूकम्पलगत्तै उद्धार तथा खोजी कार्य हुन नसक्दा पनि भग्नावशेषमा च्यापिएर धेरैले ज्यान गुमाउनु परेको अनुमान गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोटको बारकोटे गाउँपालिकामा कुनै पनि घर सग्लो नरहेको उद्धारमा पुगेका सुरक्षाकर्मीहरुले बताएका छन् । अन्य गाउँपालिकाहरुमा पनि अधिकांश संरचना भत्किएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा खोजी गर्दा केहीलाई जिवितै उद्धार गर्न सफल भएका छन् । भूकम्पबाट भएका मानवीय क्षतिमा केही घटना हृदयविदारक समेत रहेका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ मा एकै वडाका २७ जनाको मृत्यु भएको छ । यस्तै जाजरकोटकै नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह ठकुरीको समेत मृत्यु भएको छ ।

सरकारले उज्यालो हुनेवित्तिकै उद्धार तथा खोजीका लागि युद्धस्तरमा काम अघि बढाएको छ । जाजरकोटको बारीकोट गाउँपालिकाको रामीडाँडा केन्द्र विन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का काठमाडौं र नयाँदिल्लीसम्म महसुश गरिएको थियो ।

Categorized in राष्ट्रिय