साँखुका पत्रकार पवनलाल श्रेष्ठ सम्मानित हुँदै
SamacharDesk – बिराज | २०७९ आश्विन ६, बिहिबार

यस वर्षको ‘कमल बहादुर विष्ट स्मृति पुरस्कार’ साँखुका पत्रकार पवनलाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । काठमाडौं उपत्यकाको प्राचीन नगरी शंखरापुर (साँखु) बाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठलाई यस पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।
आउँदो असोज ८ गते शनिवार साँखुमा एक कार्यक्रमको आयोजना गरी सम्पादक श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्न लागिएको छ । काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगमा आधारित भएर दुई दशक अघिदेखि निरन्तर सक्रिय पत्रकारिता गरे वापत श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ ।
सम्पादक श्रेष्ठले पत्रकारिता क्षेत्रमार्फत काठमाडौं जिल्लाको उत्तरपूर्वी क्षेत्रको ईतिहास, पुरातात्विक अन्वेषणको साथै साहित्य, कला संस्कृति एवं यस क्षेत्रको प्रचार प्रसारमा योगदान दिएका छन् ।
समाचारडेस्कसँग कुरा गर्दै श्रेष्ठले आफुले स्थानीयस्तरमा पत्रकारिता क्षेत्र अगाडि बढोस् भन्ने चाहना राखेर आफ्नो कर्म गरेको र यस पुरस्कारले आफुलाई आफ्नो कर्मप्रति अझ गम्भीर बनाएको बताउनुभयो ।
‘पत्रकारिता क्षेत्रमार्फत आफ्नो भूमिको लागि केही गरौं भन्ने चाहना हो । मेरो सक्रियताको मूल्याङ्कन यसरी भइरहँदा खुसी लागेको छ । यस पुरस्कारले मलाई अझ ठुलो उर्जा र उत्साह प्रदान गरेको छ’ श्रेष्ठले बताए ।
बिभिन्न सामाजिक संघसंस्थाहरुमा समेत सक्रिय श्रेष्ठ नेपाल पे्रस युनियन साँखु शाखाका संस्थापक अध्यक्ष एवं हाल वागमती प्रदेशका पार्षद् छन् ।
पुरस्कारको राशी नगद रु. १५ हजारको रहेको छ । यो पुरस्कार विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्न स्थापना गरिएको संस्थाका अध्यक्ष राजु विष्टले बताए ।
Categorized in समाज