arin enterprises

आम निर्वाचन २०७९ को पछिल्लो नतिजा

SamacharDesk | २०७९ मङ्सिर ८, बिहिबार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम अनुसार अहिलेसम्म प्रतिनिधिसभातर्फ घोषित ६९ स्थान मध्ये कांग्रेसले २६ स्थानमा जित हासिल गरेको छ ।

यस्तै एमाले १६ ठाउँमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले ८ ठाउँमा जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले ७ ठाउँमा जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी ५ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई ठाउँमा जितेका छन् ।

नेपाल मजदुर किसान पार्टी, जसपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र स्वतन्त्र एक–एक स्थानमा विजयी भएका छन् । पछिल्लो नतिजा अनुसार रौतहट १ बाट नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपालले जित हासिल गरेका छन् ।

नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याएका थिए । यस्तै दाङ २ बाट माओवादीकी रेखा शर्मा २६ हजार ८७७ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी एमाले महासचिव शंकर पोखरेलले २६ हजार १८९ मत प्राप्त गर्नुभयो । यस्तै बाँके ३ बाट कांग्रेसका किशोरकुमार राठौर २९ हजार ४० मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गर्नुभयो ।

यस्तै तनहुँ १ बाट कांग्रेसका रामचन्द्र पौडेल २५३१३ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९९२५ मत प्राप्त गर्नुभयो ।

यस्तै भक्तपुर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ४२७६१ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गर्नुभयो ।

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की ३१ हजार १३६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गर्नुभयो ।

यस्तै पर्वतमा एमालेका पदम गिरी २९८७२ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अर्जुन जोशीले २७ हजार ६०९ मत प्राप्त गर्नुभयो ।

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी विजयी हुनुभएको छ । उहाँले कांग्रेसकका रामजनम चौधरीलाई पराजित गर्नुभएको हो । रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरले ३६ हजार ८२२ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिष्पर्धी कांग्रेसका भरतकुमार शाहले २७ हजर १२० मत प्राप्त गर्नुभयो । कास्की २ मा एमालेकी विद्या भट्टराइ १६ हजार ९९८ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले १२ हजार ४९५ मत प्राप्त गर्नुभयो ।

यस्तै कञ्चनपुर २ बाट नेपाली कांग्रेसका एनपी साउन २८ हजार १ सय मतसहित विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिष्पर्धी एमालेका नरबहादुर धामीले २१ हजार ६५५ मत प्राप्त गर्नुभयो । मकवानपुर २ मा एमालेका महेश बर्ताैला ३४ हजार ६१६ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एसका विरोध खतिवडाले ३० हजार ३९४ मत प्राप्त गर्नुभयो । जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही २२ हजार ८१९ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनकी गोमा गौतमले १० हजार ८६० मत प्राप्त गर्नुभयो । यता, गोरखा २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल २६ हजार १०३ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गर्नुभयो । जारी मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेस ३१ स्थानमा अगाडि रहेको छ भने एमाले ३२ सिटमा अगाडि देखिएको छ ।

यस्तै, माओवादी केन्द्र १०, एकीकृत समाजवादी ५, राष्ट्रिय स्वतन्त्र पार्टी ५, जसपा ५ तथा लोसपा ३ ठाउँमा अगाडि छन । राप्रपाले ३ ठाउँमा अग्रता लिँदा नागरिक उन्मुक्ती पार्टीले एक ठाउँमा अग्रता लिएको छ ।

Categorized in राष्ट्रिय