उच्चस्तरीय सुरक्षा समितिसँग आयोगको वैठक सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक १४, शुक्रबार
 
                              निर्वाचन आयोगले आउँदा फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरु सक्षम तथा प्रतिवद्ध रहेको जनाएको छ ।
आज (शुक्रवार) उच्चस्तरीय सुरक्षा समितिसँग वैठक सम्पन्न भएसँगै आयोगले यस्तो जनाएको हो ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा प्रवन्धका लागि सुरुक्षा निकाय सक्षम र प्रतिवद्ध रहेको र त्यसका लागि योजनावद्ध रुपमा कार्य प्रारम्भ गरिसकेको बताएका छन् ।
‘प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिले जिल्ला स्तरीय एकीकृत सुरक्षा योजना तर्जुमा गरिरहेको छ । स्थानीय सुरक्षा आवश्यकता र मतदान केन्द्रहरुको संवेदनशीलताका आधारमा सुरक्षा जनशक्ति परिचालन गर्ने मन्त्रालय तथा सुरक्षा निकायले भनेको छ’ प्रवक्ता भट्टराईले बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाल सरकारको तर्फबाट सुरक्षाको भरपदों प्रवन्ध मिलाउने प्रतिवद्धता व्यक्त भएको बताए ।
सुरक्षा प्रवन्धका लागि राजनीकि दल तथा सरोकारवाला निकायहरुसंग समेत आवश्यक समन्वय गरिने धारणा कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले राखेका थिए ।
वैठकमा भण्डारीले मतदान पूर्व, मतदानको अवधि र मतदान पश्चातको समयमा भरपर्दो सुरक्षाका लागि सबै सुरक्षा निकाय समन्वयात्मक रुपमा परिचालन गर्नेगरी आवश्यक तयारी गर्न निर्देशन समेत दिए ।
बैठकमा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, आयोगका सचिव माहादेव पन्थ, गृह सचिव रामेश्वर दंगाल, रक्षा सचिव सुमनराज अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
Categorized in राजनीति 
    




 
     
    