उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी, आज उजुरी दिनसक्ने
SamacharDesk | २०८१ मङ्सिर ३, सोमबार

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि विभिन्न ४४ पदका लागि चार सय सात जनाको आइतबार मनोयन पत्र दर्ता भएको छ ।
यस्तै जिसस प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ । जसअन्तर्गत कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरूष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले जानाएको छ ।
गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरूष र १ अन्य गरी जम्मा ३ सय २३ जनाको मनोनयन पत्र दर्ता भएको छ ।
आयोगले आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंगलबार अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
बुधबार उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।
Categorized in राष्ट्रिय