स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु
SamacharDesk | २०८१ मङ्सिर १४, शुक्रबार
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको मौन अवधि लागू भएको छ ।
विहीबार राती १२ बजेदेखि मतगणना सम्पन्न हुने दिनसम्म उपनिर्वाचनका निर्वाचन हुने क्षेत्रमाहरुमा लागू हुने जनाइएको छ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न निषेध गरिएको छ ।
आयोगले मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।
मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न पाइने छैन ।
यस्तै, निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि कार्य निषेध गरिएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गर्न निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ ।
आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । मंसिर १६ गते ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।
दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन ।
Categorized in राष्ट्रिय