५१ वटा अत्याधुनिक विद्युतीय चार्जिङ स्टेशन उद्घाटन
SamacharDesk | २०८० भाद्र २०, बुधबार

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको प्रवद्र्धन र बिस्तारका लागि सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।
मन्त्री बस्नेतले आगामी दिनमा देशव्यापी रुपमा चार्जिङ स्टेशन बिस्तार गर्ने योजनामा रहेको उल्लेख गर्नुभयो । देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास रहेको उहाँको भनाइ छ ।
मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताउनु भयो ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो ।
करिब रु। ४० करोड लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानाठूला कारहरु चार्ज गर्न मिल्नेछन् ।
Categorized in राष्ट्रिय