arin enterprises

आयोगद्वारा निर्वाचन चिन्ह प्रदान

SamacharDesk | २०८१ मङ्सिर ६, बिहिबार

निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगले जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र वडा अध्यक्षका लागि उम्मेदवारी दिएका ४ सय १० जनामध्ये ३ जना निर्विरोध निर्वाचित भएको र ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३ सय ७६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्विरोध निर्वाचित भएका बाहेक अरु तीन सय ७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न कारणले खाली भएका जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका मेयर, उपमेयर र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो ।

आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।

चुनावी कार्यक्रमअनुसार उम्मेदवारले आजदेखि १३ गते राति १२ बजेसम्मे प्रचारप्रसार गर्न सक्नेछन् । मङ्सिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध अवधि तोकिएको छ ।

मङ्सिर १६ गते आइतवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

Categorized in राष्ट्रिय