arin enterprises

कान्समा जूरी प्राइज विजेता ’एलिफेन्ट्स इन द फग’ सरकारबाट पुरस्कृत हुने

SamacharDesk – विजयरत्न | २०८३ जेठ ११, सोमबार

अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभलको ‘जुरी प्राइज’ जित्न सफल नेपाली चलचित्र ’एलिफेन्ट्स इन द फग’लाई सरकारबाट पुरस्कृत गरिने भएको छ ।

आज सोमवार कान्स फिल्म फेस्टिभल सम्पन्न गरी नेपाल आइपुगेको फिल्मको टोलीलाई स्वागत गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रलाई सरकारको तर्फबाट पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक अविनाश विक्रम शाह र मुख्य अभिनेत्री पुष्पा थिङ लामासहितको टोलीलाई स्वागत गर्दै मन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डको तर्फबाट तत्काल २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

‘अन्तर्राष्ट्रिय मञ्चको यति ठुलो पुरस्कारको अगाडि यो रकम भनेको सानो महसुस त भइरहेको छ । नेपाली सिनेमाको विकास र यो टोलीको सम्मानका लागि सरकारले थप के गर्न सक्छ भन्नेबारे छलफल गर्नेछौं’ मन्त्री तिमिल्सिनाले प्रतिबद्धता जनाए ।

फिल्म टोलीलाई स्वागत गर्नसञ्चार मन्त्री तिमल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल, र चलचित्र विकास बोर्डका अध्यक्ष दिन्श डिसी लगायत विभिन्न फिल्मी संघसंस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए ।

तेस्रोलिङ्गी (ट्रांसजेन्डर) समुदायको कथा र सङ्घर्षमा आधारित यो चलचित्रले कान्समा जुरी प्राइज जितेर नेपाली चलचित्र इतिहासमै सबैभन्दा ठुलो कीर्तिमान कायम गरेको छ ।

फ्रान्समा आयोजना हुने कान्स फिल्म फेस्टिभल विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमा पर्दछ । नेपाली चलचिल ‘इलिफ्यान्ट इन द फग’ ले कान्सको ७९औं संस्करणमा ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जितेको हो ।

Categorized in पेजथ्री