arin enterprises

इम्बोस्ड नम्बर प्लेट राख्नैपर्ने प्रावधानबाट विभाग पछि हट्यो

SamacharDesk | २०७९ जेठ २५, बुधबार

अन्ततः साउन १ गतेदेखि लागू हुने गरी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधानबाट यातायात व्यवस्था विभाग पछि हटेको छ ।

युवा संगठन लगायत चौतर्फी दवाबपछि यातायात व्यवस्था विभागले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नै पर्ने निर्णय अहिलेलाई परिमार्जन गरेको छ ।

विभागले हिजो मंगलबार पत्रकार सम्मेलन गर्दै साउन १ गतेभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताउनु भयो ।

उहाँका अनुसार २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नविकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गरिएअनुसार जडान भए÷नभएको अनुगमन गर्ने सूचना आएको दाबी गर्नुभयो ।

महानिर्देशक घिमिरले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गते भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको उल्लेख गर्नुभयो ।

उहाँले विभागले यसअघि २०७८ साल कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा तत्कालिन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएअनुसार विभाग अघि बढेको बताउनु भयो ।

इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिका अनुसार जसको लागि अनिवार्य गरिएको थियो उनीहरुले जडान गरेको छ वा छैन भन्ने कुरा विभागले अनुगमन गर्ने भनिएको भन्दै महानिर्देशक घिमिरेले साउन १ गते भित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत भएको बताउनु भयो ।

महानिर्देशक घिमिरेले गण्डकी र वागमती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशको नाम राखिएको बताउनुभयो । यसअघि विभागले एक विज्ञप्ति जारी गरी सूचनाले सेवाग्राहीमा दुविधा देखिएको भन्दै क्षमा मागेको थियो ।

Categorized in राष्ट्रिय