arin enterprises

विश्वशान्तिको लागि बुद्धशिक्षाको आवश्यकतामा जोड

SamacharDesk – केके मानन्धर | २०८१ फाल्गुण ११, आइतबार

विश्वशान्तिको लागि बुद्धशिक्षाको आवश्यकतामा सरोकारवालाहरुले जोड दिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थवीरले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै धम्मशोधन महास्थवीरले पाली भामा लेखिएको बुद्ध धर्मको मुख्य ग्रन्थ त्रिपिटकले विश्व शान्तिको लागि सहयोग गरेको दाबी गरे ।

कालान्तरमा त्रिपिटकलाई विभिन्न भाषामा अनुवाद गरिएको जानकारी दिंदै उहाँले मुख्य ग्रन्थबाट साभार गर्नसके वास्तविक धर्म, दर्शन, सिद्धान्त प्रचार हुने विचार राखे ।

‘बुद्ध शिक्षा व्यवहारिक भएको हुनाले पछिल्लो समय विश्वभर यसको प्रचार भएको हो । विश्वका विभिन्न देशमा युद्ध भइरहेको अवस्थामा बुद्ध शिक्षा अपरिहार्य बनेको छ । युद्ध अन्त्य गर्न बुद्ध शिक्षाले सहयोग गर्नेछ’ धम्मशोभन महास्थवीरको भनाई हो ।

कार्यक्रममा बौद्ध विद्वानद्वय रत्नसुन्दर शाक्य र ठाकुर कृष्ण उप्रेतीका दुईवटा पुस्तक संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।

स्रष्टा शाक्यले रचना गर्नुभएको बौद्धजगतका स्मरणीय व्यक्ति र उप्रेतीले अंग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरेको व्यवहारिक विपश्यना ध्यान नामक पुस्तक लोकार्पण गरिएको हो ।

धापाखेल बौद्ध बिहारमा सम्पन्न भएको पाँचौं धम्म डिजिटल दिवसको सन्दर्भमा पुस्तक लोकार्पण गरिएको हो ।

अर्का स्रष्टा उप्रेतीले सतिपट्ठान विपश्यनाचार्य अग्गमहापण्डित महासी सयादोले पाली भाषामा रचना गरेको पुस्तकलाई अंग्रेजीबाट नेपाली भाषामा अनुवाद गरेका हुन् ।

दुवै पुस्तकलाई भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीर, सचिव भिक्षु निग्रोध महास्थवीर, शासनधर धम्मचारिया भिक्षु ञाणाबुधस्थवीर, धम्म डिजिटलका अध्यक्ष भिक्षु जनक र ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

कार्यक्रममा लोकर्पण गरिएको पुस्तकको भिक्षु ञाणाबुधस्थवीर र परियत्ति सधम्म कोविध लोचनतारा तुलाधरले समीक्षा गरेका थिए ।

कार्यक्रममा बुद्ध सम्बन्धि विभिन्न पुस्तक र ग्रन्थलाई डिजिटलाइजेसन गरिरहेको जानकारी दिँदै धम्म क्वीज एप्लिकेसन शुभारम्भ गरिएको थियो ।

Categorized in समाज