महिनावारीकाे विषयलाई जटिल बनाउन नहुनेमा जोड
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ जेठ १६, बुधबार

महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् ।
दशौं महिनावारी स्वच्छता दिवसको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित र स्वच्छ बनाउन परिवार नै सचेत हुनुपर्ने बताए ।
पूर्वमन्त्री रामकुमारी झाँक्रीले महिनावारीसम्बन्धी समस्या परिवारले नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।
‘यो प्राकृतिक कुरा भएकाले कुनै व्यक्तिले डरलाग्दो बनाउनु हुँदैन । घरमै व्यवस्थापन गर्नुपर्छ । छाउपडीजस्ता कुरीति भत्काउन परिवार र समाज नै गम्भीर हुनुपर्छ’ पूर्वमन्त्री झाँक्रीको भनाइ छ ।
यसैगरी राष्ट्रिय योजना आयोगकी सदस्य प्रा.डा. संगीता सिंहले सोह्रौँ योजनामा महिनावारीसम्बन्धी सोचमा परिवर्तन ल्याउन प्रभावकारी नीति बनाइएको भन्दै उनले कार्यान्यवन पक्षमा जोड दिनुपर्ने जनाइन् ।
अहिलेको सरकारले महिला ट्राफिक प्रहरीलाई महिनामा चार दिन छुट्टी दिनु न्याययुक्त कदम भएको उनको भनाई छ ।
पूर्वमिस नेपाल इभाना मानन्धरले देशमा विभिन्न रूपान्तरणका काममध्ये सामाजिक रूपान्तरणको काम एकदमै चुनौतीपूर्ण भएको धारणा राखिन् ।
कार्यक्रममा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे, राष्ट्रिय महिनावारी सञ्जालका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठ लगायतले महिनावारीप्रति सामाजिक र परम्परागत धारणालाई परिवर्तन गरि मर्यादित महिनावारी बनाउन जरुरी रहेको औंल्याए ।
किशोरीहरुका दिन नेपालद्वारा आयोजित महिनावारीमा केन्द्रित चित्रकला, कविता र कथा लेखनमा उत्कृष्ट हुनेहरूलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । साथै महिनावारी स्वास्थ्य शिक्षा सम्बन्धि विभिन्न संघसस्थाहरुको सामग्री प्रदर्शन पनि गरिएको थियो ।
