मातृभाषा पत्रकारितालाई स्थानीय सरकारले संरक्षण गर्नुपर्नेमा जोड
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ २०, बुधबार

सांस्कृतिक र मातृभाषा पत्रकारिताको संरक्षणका लागि स्थानीय सरकारले नै विशेष भूमिका खेल्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबूकाे आयोजना र ललितपुर महानगरपालिका १६ वडाको सह आयोजनामा ललितपुरमा सम्पन्न ‘सांस्कृतिक तथा मातृभाषा पत्रकारिता प्रवर्द्धनमा स्थानीय तहको भूमिका’ विषयक गोष्ठीका वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले वडाबाट स्थानीय संस्कृति र मातृभाषाको संरक्षणमा सक्दो पहल गर्दै आएको र यस क्षेत्रमा क्रियाशील संचारमाध्यमलाई पनि सहयोग गर्दै आएको बताए ।
स्थानीय सांस्कृतिक पत्रकारिता र मातृभाषा माध्यमबाट संचालित संचारमाध्यमलाई पनि वडाबाट यथोचित सहयोग पुर्याउँदै आएको वडाध्यक्ष शाक्यको भनाई हो ।
‘सांस्कृतिक र मातृभाषा पत्रकारिताको उत्थानमा पनि सहयोग त गरेकै छु । यसलाई अझ व्यापक बनाउनुपरे कस्तो किसिमको सहकार्य गर्ने हो, योजना लिएर आउनुस्, सँगै अगाडी बढ्न तयार छु’ शाक्यको भनाई हो ।
ने.सं. १०४५ मा धर्मादित्य धर्माचार्यले नेपालभाषा माध्यममबाट ‘बुद्धधर्म व नेपालभाषा’ नामक पत्रिका प्रकाशन गरेका थिए । यहि पत्रिकाबाट नेपालमा मातृभाषा माध्यमबाट पनि पत्रकारिताको सुरुवात भएको थियो ।
अहिले नेपालभाषा माध्यमबाट मातृभाषा पत्रकारिता सुरुवात भएको सय वर्ष पुग्न लाग्दा पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता शताब्दी वर्ष घोषणा गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।
यसै सन्दर्भमा यो विचार गोष्ठीको पनि दबूले आयोजना गरेको हो ।
कार्यक्रममा गुठी संस्थानका निवर्तमान प्रशासन प्रमुख किरण शाक्य र संस्कृतिविद् जितेन्द्र विलास बज्राचार्यले स्थानीय जात्रा, चाडपर्वको नाम हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय परम्पराको स्थानीय मौलिक नाम नै प्रचलनमा ल्याउन स्थानीय संचारमाध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
पत्रकार बिराजकाजी राजोपाध्यायले मातृभाषा र सांस्कृतिक पत्रकारितालाई भाषा र संस्कृतिप्रतिको प्रेमले नै आजसम्म जीवन्त बनाइराखेकोमा जोड दिँदै यसको दीगो संरक्षणका लागि स्थानीय सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए ।
‘मातृभाषा माध्यमबाट वा संस्कृति बिटमा पत्रकारिता गरिरहेका पत्रकार वा संचारमाध्यमलाई के आर्थिक हिसाबले केही लाभ छ होला त ? पक्कै छैन । यसको संरक्षण स्थानीय सरकारले नै गर्नुपर्छ । यसको लागि मूर्त रुपको योजनासहितको विशेष प्याकेज नै ल्याइनुपर्छ’ पत्रकार राजोपाध्यायको भनाई हो ।
आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष अमर ध्वज लामाले स्थानीय समाजमा मातृभाषाको प्रयोग कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै मातृभाषा पत्रकारिताको उत्थानको लागि समुदायले नै चासो र चिन्ता राख्नुपर्ने बताए ।
‘म लामो समय काठमाडौंमा नेवाः समुदायमा नेपालभाषामै कुरा गरेर बसेको थिएँ । अहिले मैले विगतका दिनमा जस्तो नेपालभाषा प्रयोग गर्न पाइरहेको छैन । यो विषयमा सुरुमा त समुदायमै चिन्ता र चासो हुनुपर्यो’ महासंघका उपाध्यक्ष लामाले भने ।
पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, दबूका केन्द्रीय सह सचिव प्रजित शाक्य, दबू ललितपुर शाखाका अध्यक्ष मन्जु बज्राचार्यले विगतमा भन्दा अहिले स्थानीय संस्कृतिका सामग्रीले पनि मूलधारको संचारमाध्यममा स्थान बनाउँदै गएको बताए ।
यसलाई अझ व्यापक बनाउन स्थानीय सरकारले मातृभाषा र सांस्कृतिक पत्रकारिता क्षेत्रको अपनत्त्व लिनुपर्नेमा महर्जन, शाक्य र बज्राचार्यले जोड दिएका थिए ।
पत्रकार दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले यस गोष्ठीबाट स्थानीय संचारमाध्यम र स्थानीय सरकारबीचको सम्वादको सुरुवात भएको र यसलाई निरन्तर अगाडी बढाउँदै लग्ने बताए ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, ताम्रकार समाजका पुर्व अध्यक्ष रविन्द्रराज ताम्रकार, गाेरखापत्र दैनिकका सम्पादक सल्लाहकार उपेश महर्जन र विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
पत्रकार दबूले गत जेठ १९ र २० गते मात्रै दुई दिने ‘पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’ को आयोजना गरेको थियो ।
दबूले धर्मादित्य धर्माचार्यलाई राज्यले नै मातृभाषा पत्रकारिताको प्रणेताको मान्यता दिनुपर्ने र राज्य तहबाटै मातृभाषा पत्रकारिता दिवस घोषणा गरिनुपर्ने माग गर्दै आएको छ ।
Categorized in समाज