उर्जावान, वातावरणमैत्री चाड सिथिनखः
SamacharDesk – राम डंगोल | २०७९ जेठ २२, आइतबार

जात्रैजात्रा, पर्वैपर्वहरुको माझ नेवार समुदायको जीवन अगाडी बढिरहेको हुन्छ । यसै क्रममा आज अर्थात् ज्येष्ठ शुक्ल षष्ठीको दिन, नेवाः समुदाय अर्काे महत्वपूर्ण पर्व मनाइरहेको छ, त्यो हो सिथिनखः ।
जेष्ठ शुक्ल षष्ठी अथवा सिथिनखः, जसलाई कुमार षष्ठीको रुपमा पनि लिइन्छ । सिथिनखःको सामाजिक, सांस्कृतिक, धार्मिक विभिन्न मान्यताहरु छन् । तिनै मान्यता विश्वासको आधारमा आजको दिनसम्म नेवाः समुदायले सिथिनखः मनाउँदै आएका छन् ।
यस पर्वको सम्वन्ध मानव जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको छ । साथमा यस पर्वका विभिन्न धार्मिक मान्यताहरु पनि छन् । सर्वप्रथम यसका धार्मिक मान्यताहरु केलाऔं ।
कुमार कार्तिकेयकाे जन्मदिन सिथिनखः
यस पर्वमा विशेष गरी पानीको स्रोतको सरसफाई गर्ने गरिन्छ । सफाई गर्नु अघि सुरुमा पूजाआजा गरिन्छ । सफाई पछि केही दिन उक्त पानीको स्रोतलाई प्रयोगमा ल्याइन्न । प्रयोग नगरी राखिएको पानीका स्रोतहरु प्रयोगमा ल्याउन पुनः एकपटक पूजा गरिन्छ ।
पानीलाई देवी गंगाको रुपमा लिइने भएकोले प्रयोगमा ल्याउन अघि पूजा गर्ने चलन नेवार समुदायमा रहिआएको छ ।
यस दिन महादेव र गंगाका जेष्ठ पुत्र कुमार कार्तिकेयको पूजा गर्ने गरिन्छ । कुमार कार्तिकेयलाई स्थानीय जनसमुदायले सिथिद्यः भनी पुज्ने गर्दछन् । कुमार कार्तिकेयको जन्म आजकै दिनमा भएको विश्वासका साथ यो दिन उनको धूमधामका साथ पूजाआजा गरिन्छ ।
देवताहरुको गणनायक गणेश हुन् भने सेनापति कुमार हुन् । सेना, सेनापति, लडाईँ, एक आपसमा जोडिएका यी शब्द वा पक्षहरुसँग शक्तिको प्रसङ्ग नजोडिने त कुरै भएन । त्यसैले कुमार कार्तिकेको पूजाआजा गर्नाले असारे झरीमा खेत खन्ने, रोपाईं गर्ने जस्ता कामको लागि भरपुर बल र शक्ति मिल्ने विश्वास गरिन्छ ।
त्यस्तै कुमारको पूजा गर्दा शत्रुको नाश हुने घर, परिवारको रक्षा हुने र सुखसमृद्धि प्राप्त हुने र घरमा दुष्टात्माहरुले प्रवेश नपाउने धार्मिक विश्वास समाजमा रहेको छ ।
यस दिन कुमार कार्तिकेयलाई खटमा राखी धूमधामका साथ बाजागाजासहित नगर परिक्रमा गराइन्थ्यो तर, अचेल यो चलन हराउँदै गएको देखिन्छ
यस दिन काठमाडौंको न्हूघःस्थित कुमार कार्तिकेयको मन्दिरमा पूजा र दर्शन गर्नेको ठुलै भीड लाग्ने गर्दछ । सिथिनखः भन्दा चार दिन अघि कुमार कार्तिकेयलाई परम्परागत बाजागाजासहित द्यःछेँ (देवताको घर) बाट कुमार मण्डपसम्म बोकेर ल्याइन्छ र मयुर वहानमा विराजमान कुमारलाई मण्डपमा राखी पूजाआजा गरीन्छ ।
पूजाको क्रममा शुरुमा दूध र त्यसपछि जलबाट महास्नान गरिन्छ । यसलाई स्थानीय भाषामा सिथिद्यःया न्हवं भनिन्छ ।
सिथि नखः पर्वको एक दिन अघि देवतालाई पाटीमा राखी कर्म पूजा, होम गरी शुद्धिकरण गरिन्छ । भोलिपल्ट अर्थात सिथिनखःका दिनमा दर्शन तथा पूजाआजाका लागि सर्वसाधारणको लागि मन्दिर खुल्ला गरिन्छ ।
विगतमा यस दिन कुमार कार्तिकेयलाई खटमा राखी धूमधामका साथ बाजागाजासहित नगर परिक्रमा गराइन्थ्यो तर, अचेल यो चलन हराउँदै गएको देखिन्छ । अहिले भने कुमारलाई खटमा राखि दिनभर मण्डपसँगै राखी सर्वसाधारणको दर्शनका लागि राख्ने मात्र गरिन्छ, नगर परिक्रमा गराइन्न ।
यो त धार्मिक विश्वास र परम्परा । अब यसको सामाजिक महत्वतिर पनि ध्यान दिउँ ।
स्वस्थ जीवनकाे शिक्षा दिने पर्व सिथिनखः
वर्षकै अन्तिम चाडको रुपमा मनाइने यो पर्व विशेषगरी किसानहरुको लागि उर्जा दिने पर्वको रुपमा पनि लिइन्छ । यो पर्वलाई नेवारहरु वर्षाको पर्वको रुपमा पनि लिने गर्दछन् ।
एउटा भनाई पनि छ, असार महिना भनेको “मानो रोपी मुरी फलाउने” महिना हो रे । रोपार्ईँलाई स्थानीय नेपालभाषामा ‘सिनाज्या’ भन्ने गरिन्छ । सिनाज्या अर्थात मरेरै गर्नुपर्ने काम । असार महिनामा किसानहरु दिनरात नभनी रोपाईमा खट्नुपर्ने हुन्छ । यस्तो अवस्थामा किसानहरुलाई विरामी भएँ भन्नसम्म त के, घरमा कोही मान्छे वितेमा काजक्रियाको लागि सम्म पनि समय पाइन्न ।
यसरी दिनरात खटेर श्रम गर्नुपर्दा शरीरलाई शक्ति वा बलको अत्यधिक आवश्यकता हुन्छ । यसरी काम गर्न शरीरलाई चुष्ट र फुर्तिलो बनाउनका लागि चाहिने पौष्टिक तत्व, उर्जा दिने खाना खानुपर्ने हुन्छ ।
रोपाईँ भन्दा अगाडी पर्न आउने चाड सिथिनखःमा यस्तै परिकारहरु जस्तै मासको वः, मुगीको वः तथा अन्य मासुका परिकारहरु खाने गरिन्छ ।
वातावरण सरसफाइकाे पर्व सिथिनखः
सिथिनखःको दिनमा वः खाने मात्र नभई, ईनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोतहरु सफा सुग्घर गर्नेे गरिन्छ । ईनार, कुवा अनि पोखरी वरिपरि पूजा पनि गर्ने गरिन्छ भने यसरी पूजा गर्नु पूर्व सरसफाइ गर्ने चलन छ । वर्षाको समयमा यस्ता पानीका मुहानहरु सफा होस् र खाने पानी दुषित नहोस् भन्ने ध्येयले यस्ता मुहानहरु सफा गर्ने गरेको बुझ्न सकिन्छ ।
त्यस्तै वर्षातमा परेको ठूलो पानी बग्नलाई कुनै बाधा, अवरोध नहोस् र त्यसबाट कुनै प्रकारको क्षति नहोस् भनेर पहिल्यै सजग भई ढल, नालीहरु पनि सफा गर्ने गर्दछ ।
यसरी सबै जना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्यकारी हुने दूरगामी संस्कार पनि देख्न सकिन्छ । ऋतु अन्तर्गत पर्वहरु मनाउने र परिकारहरु खाने मात्रै होइन, नेवाः समुदाय वातावरणमैत्री पनि भएको यस पर्वले इङ्गित गर्दछ ।
जीवनको लागि नभई नहुने पानीको कमी नहोस्, पानीको लागि दुःख नहोस् भनेरै पानीको स्रोतको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाउने चलन बनेको हो भन्न सकिन्छ ।
आजको समयमा काठमाडौंबासीहरूलाई सिथि नखःको महत्व अझै बढेर गएको छ । बढ्दो जनघनत्व र शहरीकरणले गर्दा यहाँका पानीका स्रोत तथा मुहानहरु सुक्दै गइरहेका छन् । यस्तो अवस्थामा काठमाडौंवासीहरुले ट्यांकर र जारको पानीमा भर पर्नुपर्ने अवस्था छ । वर्षाैंदेखि प्रतिक्षामा रहेको मेलम्चीको पानी पनि कहिले बाढीपहिरो आएर त कहिले झरी मौसममा हुने क्षतिबाट बचाउन भनी बन्द गरिएको अवस्था छ ।
हाम्रो पुर्खा र संस्कृतिले सिकाएको यस्ता दर्शनलाई बिर्सिँदा नै आजको यो अवस्था सिर्जना भएको हो भन्दा कसैको फरक विचार नहोला । हामीसँग परापूर्वकालदेखि रहेको यस्ता पानीका मुहान तथा स्रोतहरुलाई उचित मर्मत सम्भार र संरक्षण गर्दै काठमाडौंमा पानीको समस्या केही हदसम्म भएपनि कम गर्न सकिने देखिन्छ ।
सिथिनखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि यस किसिमका पानीको कुनै पनि श्रोतको प्रयोग गरिन्न । पानी सफा गर्दा इनारभित्रै वा पोखरी, कुवामा मान्छे नै भित्र पसेर नै सफा गर्ने गरिन्छ ।
यसो गर्नाले पानीको तलको सतहमा हिलो, लेदोलगायत जमेको फोहोर पदार्थहरू माथिल्ल्लो सतहमा आउन थाल्छ । यस किसिमको हिलो, लेदो लगायतका फोहोर तल्लो तहमा थिग्रिएर जान केही समय त पक्कै लाग्छ । त्यसैले पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ ।
केही दिन पछि पानी सफा बनेपछि पिउन वा दैनिक घरायसी कामकाजको लागि प्रयोग गरिन्छ । साथमा खेतमा रोपाईँको लागि पनि तयारी पूरा हुने भयो ।
सबै नेपालीले मनाउँ सिथिनखः
परम्परागत रुपमा मनाईंदै आएको आएको यो पर्वको धार्मिक मात्र होइन, वातावरण, मानव स्वास्थ्यको दृष्टिकोणले पनि ठुलो महत्त्व देखिन्छ ।
मानिसलाई स्वस्थ, फुर्तिलो बनाइराख्न शरीरलाई उर्जा प्रदान गर्ने, वातावरणमैत्री र धार्मिक रुपबाट पनि महत्वपूर्ण यो चाड नेवार समुदायले मात्रै होइन, हरेक नेपालीले मनाउँदा पनि राम्रै हुने देखिन्छ ।
सिथि नखःको यस पावन अवसरमा समस्त नेपालीहरुमा हार्दिक शुभकामना !
Categorized in संस्कृति