arin enterprises

पत्रकार दबूबाट १० देशमा विदेश शाखा प्रमुख नियुक्त

SamacharDesk – केके मानन्धर | २०८३ जेठ २५, सोमबार

नेवाः पत्रकार राष्ट्रिय दबूले १० देशका लागि विदेश शाखा प्रमुख नियुक्त गरेको छ ।

देशभरका नेवार पत्रकारहरूको साझा संस्थाले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित विदेश शाखा बिस्तार गरेको हो ।

पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सुरेन्द्र भक्त श्रेष्ठले विदेशमा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई संस्थासँग जोड्ने लक्ष्यका साथ विदेश शाखा विस्तार अभियान सुरु गरिएको हो ।

दबूले जापानका लागि चन्द्रमान महर्जन, अमेरिकाका लागि अनिल रञ्जित, नेदरल्याण्ड्सका लागि आशिष राजभण्डारी, अष्ट्रेलियाका लागि डा. राजु मानन्धर, यूएईका लागि सचिन्द्र श्रेष्ठलाई संयोजक तोकेको छ ।

त्यस्तै पोल्याण्डका लागि अभिनाश डंगोल, क्यानाडाका लागि शिव कारञ्जित, पोर्चुगलका लागि राजेशमान जोशी, नर्वेका लागि नयन मल्ल तथा जर्मनीका लागि कुमार नापित संयोजक नियुक्त भएका छन् ।

नेपाल संवत् ११३२ मा स्थापना भएको पत्रकार राष्ट्रिय दबूको हाल २९ वटा जिल्लामा शाखा जिल्ला शाखा विस्तार गरिसकेको छ ।

दबूले आगामी भदौ १९ र २० गते गोरखाको भिमसेन थापा गाउँपालिकास्थित नमुना बस्तीमा पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १५औँ साधारणसभा आयोजना गर्ने तयारी गरीरहेको छ ।

महाधिवेशन अन्तर्गत संगठन विस्तार र जिल्ला अधिवेशनको प्रक्रिया पनि अघि बढाइएको छ । हालसम्म गोरखा जिल्ला शाखाले अधिवेशन सम्पन्न गरिसकेको छ भने काभ्रे जिल्ला शाखा को अधिवेशन जेठ ३१ गते आइतबार हुने तय भएको छ ।

त्यसैगरी ललितपुर, भक्तपुर र धादिङ जिल्ला शाखाले असारको पहिलो साता अधिवेशन गर्ने कार्यक्रम रहेको छ ।

चितवन, मकवानपुर, सुनसरी, अर्घाखाँची, दोलखा, सुर्खेत र कास्की लगायतका जिल्ला शाखाले पनि अधिवेशनको तयारी सुरु गरिसकेको संस्थाले जनाएको छ ।

Categorized in समाज