arin enterprises

दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डद्वारा भारत पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १४, शनिबार

 इंग्ल्यान्ड विरुद्ध भारतको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डले भारतलाई पराजित गरेको छ ।

पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको हो ।

टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डलाई भारतले ५० ओभरमा ६ विकेटको क्षतिमा ३३६ रन बनाउँदै ३३७ रनको लक्ष्य दिएको थियो ।

जवाफमा इंग्ल्यान्डले ४३.३ ओभरमै यो लक्ष्य पार गरे । इंग्ल्यान्डले ४३.३ ओभरमा ४ विकेट गुमाउँदै ३३७ वनाएका थिए ।

इंग्ल्यान्डको जितमा जोनी बेयरस्टो र बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गरे । बेयरस्टोले ११२ बलमा ११ चौका र ७ छक्का प्रहार गर्दै १२४ रन बनाए ।

त्यस्तै स्टोक्स भने एक रनबाट शतक बनाउन चुके । उनले ५२ बलमा ४ चौका र १० छक्का प्रहार गर्दै इग्ल्यान्डलाई ९९ रनको योगदान दिए ।

त्यसअघि ओपनर जासन रोए ५५ रनमा रनआउट भएका थिए ।

डविड मलानले नटआउट १६ रन जोडे, हाल कप्तानीको भूमीका रहेका जोस बटलर भने शून्यमा नै आउट भए ।

डेब्यू खेलाडी लियाम लिभिङस्टोनले नटआउट २७ रन बनाए ।

यता भारतका ओपनर रोहित शर्मा २५ रन र शिखर धवन ४ रनमा आउट भएका थिए ।

कप्तान विराट कोहलीले ६६ रन जोडे । कोलहीको यो एकदिवसीय खेलमा लगातार चौथो अर्धशतक हो । उनले ७९ बलमा ३ चौका र १ छिक्का प्रहार गरे ।

चौथौं नम्बरको ब्याटस्म्यान राहुलले १०८ रन जोडे । यो उनको एकदिवसीय खेलमा पाँचौ शतक हो । उनले ११४ बलमा ७ चौका र २ छक्का हिर्काए ।

रिशव पन्तले ३ चौका र ७ छक्का हिर्काउदै ४० बलमा ७७ रन बनाए । त्यस्तै हार्दिक पाण्ड्याले १६ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३५ रन जोडे भने क्रुनाल पाण्ड्याले नटआउट १२ रन जोडे ।

बलिङमा इंग्ल्यान्डका टम कुरान र रेस टोपले २–२ विकेट लिए भने साम कुरान र अदिल रासिदले १–१ विकेट लिए ।

भारतका लागि प्रसिद्ध कृष्णाले २ विकेट र भुवनेश्वर कुमारले १ विकेट हात पारे ।

यो जितसँगै तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ । अब आइतबार हुने तेस्रो खेल भने निर्णायक हुने भएको छ ।

 

 

Categorized in स्पाेर्ट्स