वेस्ट ब्रोममाथि आर्सनलको शानदार जित
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष १९, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई नराम्रो हार चखाएको छ । आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई ४–० ले हराएको हो ।
आर्सनललाई शानदार जित दिलाउन खेलको पहिलो हाफमा किरन टिएर्नीले २३ औं र बकायो साकाले २८ औं मिनेटमा एक/एक गोल गरे ।
त्यस्तै दोश्रो हाफमा अलेक्जेन्डर लाकाजेट्ले ६० र ६४ औं मिनेटमा एक/एक गोल थप्दै टिमको शानदार जित सुनिश्चित बनाए ।
यो जितसँगै लिगको अंक तालिकामा १७ खेलबाट २३ अंक जोड्दै ११ औं स्थानमा उक्लिएको छ । १७ खेलबाट ८ अंक जोड्दै वेस्ट ब्रोम १९ औं स्थानमा छ ।
लिड्स टोटनह्यामसँग पराजित
इंग्लीश प्रिमियर लिग अन्तर्गत हिजै राती सम्पन्न खेलमा टोटनह्याम हट्सपरले लिड्स युनाइटेडलाई ३–० ले पराजित गरेको छ ।
खेलको २९ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै ह्यारी केनले टोटनह्यामलाई अगाडी बढाए । सन हिउङ मिनले ४३ औं मिनेटमा र टोबी अल्डरवेराल्डले ५० औं मिनेटमा एक/एक गोल थपे ।
खेलको इन्जुरी समयमा टोटनह्यामका म्याट डोहेर्टी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
यो जितपछि टोटनह्याम लिगको अंक तालिकामा १६ खेलबाट २९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट २३ अंक जोडेको लिड्स १२ औं स्थानमा छ ।
शेफिल्ड क्रिस्टसँग पराजित, ब्राइटन र वुल्भ्सकाे बराबरी
लिग अन्तर्गत हिजो राती नै सम्पन्न अर्को खेलमा क्रिष्टल प्यालेसले शेफिल्ड युनाईटेडलाई २–० ले हराएको छ ।
खेलमा चौथो मिनेटमा नै जेफरी स्क्लपले क्रिस्टललाई अगाडी बढाए भने पहिलो हाफको इन्जरी समयमा एबरेची इचले दोश्रो गोल थपे ।
१७ खेलबाट २२ अंक जोडेको क्रिस्टल प्यालेस १४ औं स्थानमा छ भने समान १७ खेलबाट मात्र २ अंक जोडेको सेफिल्ड २० औं स्थानमा छ ।
ब्राइटन र वुल्भरह्याम्पटन वान्डरर्सबीचको निकै प्रतिस्पर्धात्मक खेलमा ३–३ गोलको बराबरी भएको छ ।
खेलमा ब्राइटनका लागि आरोना कोनोली, नील माउपे र लुइस डन्कले एक/एक गोल गरे भने रोमन साइस, ड्यान बर्न र रुबेन नेभिसले वुल्भ्सका लागि गोल गरेका थिए ।
१७ खेल खेल्दै २२ अंक बटुलेको वुल्भ्स १३ औं स्थानमा छ भने ब्राइटन १७ खेलबाट १४ अंकसहित १७ औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स