म्यानयुले गुमायो शिर्षमा उक्लिने अवसर
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ १५, बिहिबार

इङ्गलिस प्रिमियर लिग फुटबलमा दोश्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । गएरातिको खेलमा तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडसँग पराजित भएसँगै म्यानयुले शिर्षमा उक्लिने अवसरमा गुमाएको हो ।
म्यानयु हिजो आफ्नै मैदान वल्ड ट्राफर्डमा भएको खेलमा शेफिल्डसँग २–१ गोलले हारेको हो ।
खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाए । ६४ औं मिनेटमा ह्यारी माग्वेरले म्यानयुका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७४ औं मिनेटमा शेफिल्डका ओलिभर बुर्केले गरेको गोलले भने खेलको निर्णय गर्यो ।
त्यस्तै ८ औं स्थानको चेल्सीले १३ औं स्थानको वुल्भरह्याम्पटन वान्डर्ससँग गोलरहित बराबरी खेलेको छ ।
त्यसैगरी लेस्टर सिटी र एभर्टनले पनि एक÷एक गोलको बराबरी खेलेको छन् । खेलमा ३० औं मिनेटमा जेम्स रोड्रिगुइजले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएपनि ६७ औं मिनेटमा लेस्टरका युरी टाइलम्यान्सले गोल गर्दै खेल बराबरी गरे ।
अङ्क तालिकामा लेस्टर २० खेलबाट ३९ अङ्कसहित तेश्रो स्थानमा छ भने ७ औं स्थानमा रहेको एभर्टनको १८ खेलबाट ३३ अङ्क छ ।
गएराति नै सम्पन्न अर्को खेलमा एस्टनभिल्लामाथि बर्न्लेले ३–२ को जित निकालेको छ ।
प्रतिस्पर्धात्मक खेलमा बर्न्लेलाई जित दिलाउन बेन मी, ड्वाइट म्याकनेल र क्रिश उडले एक एक गोल गरे । एस्टनका ओली वाट्किन्स र ज्याक ग्रिलिसले एक एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेन ।
जितसँगै १५ औं स्थानमा रहेको बर्न्लेको १९ खेलबाट २२ अङ्क भएको छ भने एस्टन भिल्ला १८ खेलबाट २९ अङ्कसहित १० औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स