arin enterprises

वेस्ट ह्यामसँग चेल्सी पराजित, आर्सनलको सानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १८, बिहिबार

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले हार व्यहोरेको छ । चेल्सीलाई वेस्ट ह्यामले ३–२ गोल अन्तरले पराजित गरेको हो ।

विना दर्शक लन्डन स्टेडियममा खेलाइएको खेलमा चेल्सीले नै अग्रता लिएको थियो । ४२ औं मिनेटमा पाएको पेनाल्टीमा विलियनको गोलसँगै चेल्सी अघि बढेको थियो । 

तर त्यसको पाँच मिनेट पछि नै वेस्ट ह्यामका टमस् सोउचेकले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

५१ औं मिनेटमा मिकेल एन्टोनियोले अर्को गोल गरेपछि वेस्ट ह्यामले २–१ को अग्रता लियो । 

७२ औं मिनेटमा विलियनले दोस्रो व्यक्तिगत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउन सफल भए ।

८९ औं मिनेटमा यर्मोलेङ्कोलेले तेस्रो गोल गर्दै वेस्ट ह्यामलाई ३–२ को नतिजासहित जित दिलाए ।

यो खेल पछि लिगको अंक तालिकामा वेस्ट ह्याम ३२ खेलबाट २७ अंकले १८औं स्थानमा छ भने यता चौथो स्थानको चेल्सीको समान खेलबाट ५४ अंक छ ।

बुधबार राति भएको लिगको अर्को खेलमा आर्सनलले नर्विच सिटीलाई ४–० गोलले पराजित गरेको छ ।

बिना दर्शक एमरेटस् स्टेडियममा खेलिएको खेलमा आर्सनलका लागि पियर एमिरिक आउबामेयाङकले ३३औं र ६७औं मिनेटमा गोल गरे । 

त्यस्तै ग्रानित जाकाले ३७औं मिनेटमा र सेड्रिक सोएरेसले ८१औं मिनेटमा एक एक गोल थपेपछि आर्सनलले सानदार जित हात पारेको हो ।

यो जितसँगै आर्सनल ४६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

बुधबार राति नै भएको अर्को खेलहरुमा बोर्नेमाउथलाई न्यूकासलले १–४ गोलले हराएको छ ।

त्यस्तै तेस्रो स्थानको लेस्टर सिटिलाई एघारौ स्थानको एभर्टनले २–१ ले हराएको छ ।

तेस्रो स्थानको लेस्टर सिटिको ३२ खेलमा ५५ अंक छ एभर्टनले समान खेलमा ४४ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । 

लिगको उपाधि जितिसकेको लिभरपुल ३१ खेलबाट ८६ अंक जोड्दै शिर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स