उपाधि भिडन्तका लागि स्पेन र इंग्ल्याण्ड भिड्ने
SamacharDesk | २०८१ आषाढ ३१, आइतबार

युरोपियन फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हँदैछ ।
उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दैछन् । खेल जर्मनीको बर्लिनमा आज राती पौने एक बजे सुरु हुनेछ ।
सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो भने फ्रान्सलाई २–१ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।
स्पेनले यसअघि ३ पटक युरोकपको उपाधि उचालिसकेको छ । उसले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोपियन फुटबल जितेको थियो ।
इंग्ल्याण्ड भने इतिहासमा पहिलो पटक युरोपियन फुटबलको उपाधि जित्ने अभियानमा रहेको छ । अघिल्लो संस्करणको फाइनलमा इंग्ल्याण्डलाई इटालीले पेनाल्टी सुटआउटमा हराएको थियो ।
इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो फाइनल खेल्दैछ । इंग्ल्याण्ड विजयी भएमा पहिलो पटक युरो च्याम्पियन बन्नेछ । त्यसका लागि इंग्ल्याण्डले घर बाहिर उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई हराउनुपर्नेछ ।
इंग्ल्याण्डले अहिलेसम्म जितेको एक मात्र ठूलो उपाधि सन् १९६६ को फिफा विश्वकप हो र त्यो पनि घरेलु मैदानमा जितेको थियो ।
Categorized in स्पाेर्ट्स