arin enterprises

नक्कली शरणार्थी प्रकरणमा रिजाल र मिया पक्राउ

SamacharDesk | २०८० जेठ ४, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा नेता रिजालको पनि संलग्नता भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो । उहाँ भुटानी शरणार्थीको रूपमा नेपालमा रहनुभएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले नेता रिजाललाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । नेता रिजाललाई झापाबाट पक्राउ गरेर काठमाडौं जिल्ला प्रहरी परिसरमा सोधपुछपछि म्याद थपका लागि जिल्ला अदालत लगिएको छ ।

नक्कली भुटानी प्रकरणमा आर्थिक लेनदेनमा नेता रिजालको संलग्नता देखिएको भनाइ प्रहरीको छ ।

यस्तै आज विहान हज कमिटिका अध्यक्ष शमशेर मिया पक्राउ परेका छन् ।

शरणार्थीका नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए ।

भुटानी शरणार्थी प्रकरणमा उक्त समितिको गाडी प्रयोग भएको खुलासा भएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको स्वामित्वमा रहेको बिएबी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ ।

पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेको प्रहरीको दाबी छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने आवरणमा एकपछि अर्काे पर्ने क्रम जारी नै रहेको छ ।

Categorized in राष्ट्रिय