arin enterprises

नक्कली लाइसेन्स वितरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

SamacharDesk | २०८१ आषाढ २६, मंगलबार

नक्कली सवारी चालक पत्र वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतमा लिखत सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

ब्युरोले यातायात ब्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, पदमराज आचार्य र सहायक सुवास पौडेलविरुद्ध मुद्धा दर्ता गरेको हो ।

सवारी चालक अनुमतिपत्रको रेकर्ड विद्युतीय प्रणालीमा सार्ने क्रममा विवरण फरक पारी उनीहरुले नक्कली लाइसेन्स वितरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै ब्यूरोले नवलपुरको कावासोती कार्यालयका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध पनि सीआइबीले मुद्धा दायर गरेको छ ।

उनीहरुले नक्कली सवारी चालक पत्र वितरण गर्दा मोटो रकम लेनदेन भएको अनुसन्धानबाट खुलेको सिआइबीको ठहर छ ।

मुद्धा दायर गरिएकाहरु मध्ये ६ जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भईरहेको पनि सीआइबीले जनाएको छ । यो गिरोहले तीन सय वटा नक्कली लाइसेन्स वितरण गरेको प्रहरीले जनाएको छ ।

हालसम्म सीआइबीले गरेको अनुन्धानबाट एक लाख भन्दा धेरै नक्कली लाइसेन्स वितरण गरेको देखिएको छ ।

Categorized in अपराध