arin enterprises

सर्लाहीमै फर्काइयो सरकारी गाडीबाट काठमाडौं आइपुगेकाहरु

SamacharDesk – बिकाश | २०७७ बैशाख २५, बिहिबार

हिजो मात्रै सर्लाहीबाट सरकारी गाडीमा बसेर काठमाडौं आइपुगेको परिवारलाई सर्लाहीमै फर्काइएको छ । 

सर्लाहीतिर जोखिम बढेको भन्दै हिजो सर्लाहीको होरैता नगरपालिका २ का ३ जना काठमाडौं आइपुगेका थिए । सर्लाहिबाट आफ्ना छोरा र छोरीसँगै एक महिला काठमाडौं आएकी थिइन् ।

आज ती तीनजना सहित महिलाका श्रीमानलाई पनि सर्लाहीमै फर्काइएको छ ।

यो घटनाको सम्वन्धमा समाचारडेस्कले समाचार प्रकाशन गरेको थियो ।

विशेष गरेर समाचारडेस्कका सम्पादक बिराजकाजी राजोपाध्यायको साथै रेडियो उपत्यकाका रेडियोकर्मी प्रज्वल शाक्य, विगेन तुलाधर र ननस्टप खबरका पत्रकार बुद्धशरण शाही यस घटनाको निरन्तर फलो अपमा रहेर अपडेट गर्दै गरेका थिए ।

त्यसपछि सामाजिक संजालमा यस घटनलाई लिएर व्यापक विरोध शुरु भएको थियो ।

अन्ततः सरकारी गाडीको दुरुपयोग गर्दै सर्लाहीबाट ओसारेर काठमाडौं ल्याइएका तीन जना सहित चार जनालाई आज सर्लाही नै फर्काइएको हो ।

काठमाडौं महानगरपालिका वडा २२ का वडाध्यक्ष चिनीकाजी महर्जनको पहलमा पास उपलब्ध गराइ दुई वटा मोटरसाइकलबाट उनीहरुकैे घर मलङ्गवामै फर्काइएको हो ।

हिजो प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको गाडीबाट उनीहरु काठमाडौं आएका थिए । 

सर्लाहीबाट काठमाडौं आएका उनीहरु शुरुमा काठमाडौं २३ वडा ओमबहालमा नातेदारको डेरामा बस्न गएका थिए । तर स्थानीयले विरोध गरेपछि उनीहरु त्यहाँबाट फेरी २२ वडा वटु टोलमा बस्न गएका थिए । 

वटु टोलमा पनि स्थानीयको साथमा मच्छिन्द्र क्लवका युवाहरु समेत लकडाउनको समयमा सरकारी गाडीले तराईबाट मान्छे ओसारेको भन्दै विरोधमा उत्रिएका थिए ।

स्थानीयको विरोध पछि उनीहरुलाई प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि लगेको थियो । 

बुधवार गरिएको आरडिटी परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आए पनि पीसीआर विधिबाट गरिएको परिक्षणको रिपोर्ट भने आइसकेको छैन । 

पछिल्लो समय तराईका केही जिल्लामा कोरोनाको संक्रमण बढ्दै जाँदा उताबाट मान्छेहरु रातारात काठमाडौं आउने क्रम समेत बढेको छ । यस्तो अवस्थामा एकातिर सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको भनिरहेको छ भने अर्कोतिर सरकारी गाडीबाट मान्छे काठमाडौं ल्याइएको छ ।

लकडाउन मात्र गरेर परिक्षणको दायरा नबढाएको भन्दै अहिले सरकारको चर्को आलोचना भइरहेको छ । तराईतिर संक्रमण जोखिम बढेको भन्दै रातारात हजारौं मान्छेहरु काठमाडौं भित्रिरहेको समाचार पनि आइरहेको अवस्था छ ।

यस्तो अवस्थामा सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा सर्लाहीबाट सरकारी गाडीमै मान्छेहरु काठमाडौं आइपुगेको घटनाले भने यहाँ संक्रमण रोकथाम र नियन्त्रणतर्फ सरकारको गम्भीरतामा ठुलो प्रश्न उठेको छ ।

 

यो समाचार पनि पढ्नु र हेर्नुहोला :

 

लकडाउनमा सरकारी गाडीबाटै मलङ्गवाबाट काठमाडौं

 

सरकारी गाडीबाट काठमाडौं आइपुगेको घटनाको भिडियो रिपोर्ट

 

 

Categorized in राष्ट्रिय