arin enterprises

चर्चित कोरीयोग्राफर रोजिन अब फेसबुक लाइभ टक शोमा

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ २८, बुधबार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरिसकेका कोरीयोग्राफर रोजिन शाक्यले सामाजिक संजालको डबलीलाई प्रयोग गर्दैै लाईभ टक शो संचालन गर्न थालेका छन् ।

बन्दाबन्दीमा सबै प्रकारका स्टेज कार्यक्रमहरु ठप्प रहेको समयमा रोजिनले ‘स्पीक टू मी’ नाम दिइएको टक शो विगत ५ साताबाट देखि संचालन गर्दै आएका हुन् । उक्त टक शो रोजिनकै फेसबुक पेजबाट नियमित रुपमा शुक्रबार र शनिबार साँझ ४ बजेबाट करिब एक घण्टा संचालन हुने गरेको छ । 

विशेषतः फेसन, मोडलिङ, ब्युटी, संचार, अभिनय तथा सौन्दर्य प्रतियोगिता क्षेत्रमा उपलब्धी हासिल गरेका व्यक्तित्वहरुसँगको कुराकानीमा व्यक्तिको उपलब्धी, क्यारिएर, व्यवसायिक यात्राको विभिन्न पाटोसँगै व्यक्तिगत जीवनका रमाइला पक्षहरुको सेरोफेरोमा सो कार्यक्रम केन्द्रित रहेको छ ।

कार्यक्रमको प्रारम्भिक चरणमा उल्लेखीत क्षेत्रका व्यक्तिहरुमा केन्द्रित रहेतापनि विस्तारै यसको स्वरुपमा समाजका अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका युवाहरुलाई पनि समेटिने रोजिनले बताएका छन् । 

हालसम्म रोजिनले संचालन गर्दै आएको ‘स्पीक टू मी’ मा मिस कस्मोपोलिटन वल्र्ड २०१९  प्रिया रानी लामा, मोडल एवं मिस इको इन्टरनेसनल नेपाल २०१९  मुना गौचन, मोडल एवं अभिनेत्री सुमी मोक्तान, मोडल तथा मिष्टर ओसियन नेपाल २०१७ विवेक खड्का, मोडल एवं अभिनेता एसराज गराच, मिस लिटिल प्रिन्सेस् इन्टरनेसनल २०१८ प्रितान्शा थापा, मेकअप आर्टिष्ट स्वस्तिका राजभण्डारी, फेसन डिजाइनर मनिश राईसँगको कुराकानी प्रस्तुत भइसकेको छ । 

टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा यसअघि वि.सं. २०५८ सालमा च्यानल नेपालको पर्दामा नेपाली चलचित्र सम्बन्धित दुईवटा कार्यक्रमहरु सप्तरंगी र सिनेबाइट्स संचालन गरेका रोजिनले वि.सं. २०६० सालमा एनटिभि टुमा प्रवेश गरेका थिए । 

त्यहाँ करिब ६ वर्ष सम्म फेसन क्षेत्रसँग सम्बन्धी कार्यक्रम ‘फेसन बज’ र चलचित्र सम्बन्धीत कार्यक्रम ‘सिने सिज्लर’ को प्रस्तोता एवं निर्माताको रुपमा भूमिका निर्वाह गरेका थिए । 

यसैगरी केही समय अगाडि ईमेज टेलिभिजनबाट प्रशारण भएको अभियन सम्बन्धीत टेलिभिजन रियालिटी शो नेसनल एक्टिङ कम्पीटिसनको संचालनको जिम्मेवारी पनि उनैले निर्वाह गरेका थिए । 

विगत १२ वर्ष यताबाट रोजिन इमेज च्यानलमा नेपालभाषाको समाचार वाचकका रुपमा कार्यरत छन् । साथै फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका छन् ।

Categorized in पेजथ्री