सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सिंहको बिदाइ
SamacharDesk – बिराज | २०८१ श्रावण ९, बुधबार

प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई विदाई गरिएको छ ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सिंहलाई बिदाइ गरे ।
बिदाइ समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवम् सुदृढिकरणका लागि संगठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताए ।
प्रहरी महानिरीक्षक कुँवरले डा. सिंहबाट सेवानिवृत्त जीवन पश्चात पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव सुनाइन् ।
प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सिंह वि.सं. २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । प्रहरी अतिरिक्त महानिरीक्षक सिंह उमेर हदको कारण साउन १० गतेबाट सेवानिवृत्त हुन लागेकी हुन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू र वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
Categorized in समाज