काठमाडौं–तराई द्रुतमार्गको ३३.२० प्रतिशत सम्पन्न
SamacharDesk | २०८१ बैशाख २५, मंगलबार

नेपालको गौरवको आयोजनाको रुपमा लिएको काठमाडौं–तराई÷मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।
कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै हालसम्मको समष्टिगत भौतिक प्रगति ३३.२० प्रतिशत रहेको र समष्टिगत वित्तीय प्रगति ३३.७१ प्रतिशत रहेको जानकारी दिनुभएको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक लक्ष्यको तुलनामा हालसम्मको भौतिक प्रगति ८२.७७ प्रतिशत र वित्तीय प्रगति ६९.४१ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं–तराई द्रुतमार्गको कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको छ । जसको लम्बाई १०.०५५ किलोमिटर हुनेगरी ६ स्थानमा सुरुङ निर्माण हुने जनाइएको छ । त्यस्तै १२.८८५ किमी लम्बाई हुनेगरी ८९ स्थानमा पुल निर्माण हुनेछ ।
६ वटामध्ये ३ वटा सुरुङ निर्माणको क्रममा रहेको र ३ वटामा खरिद सम्झौता भएर प्रक्रिया अगाडी बढेको आयोजना प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार ८९ पुलहरु मध्ये ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका र ४ वटा जग्गा अधिग्रहण सम्बन्धी समस्या रहेको खोकना क्षेत्रमा परेको छ ।
कुल २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो द्रुत मार्ग २०८३ साल चैत मसान्तमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
Categorized in राष्ट्रिय