मदन पुरस्कार विजेता साहित्यकार चन्दको अभिनन्दन
SamacharDesk – विजयरत्न | २०८२ मङ्सिर २५, बिहिबार
मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार एवं पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई अभिनन्दन गरिएको छ ।
वरिष्ठ साहित्यकार चन्दलाई १०१ विभिन्न साहित्यिक सामाजिक संघसंस्थाहरूले भक्तपुर लोकन्थलीस्थित उहाँकै निवासमा सामूहिक अभिनन्दन गरेको हो ।
अभिनन्दन मूल समारोहका अध्यक्ष राधेश्याम लेकालीले चन्दको साहित्य क्षेत्रमा विशिष्ट योगदानको कदर स्वरुप अभिनन्दन गरेको बताए ।
समारोहमा सुदूरपश्चिम बैतडीका स्थानीय कलाकारहरूले बाजागाजासहित लोक नृत्य छलिया प्रस्तुत गरेका थिए ।
वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले अभिनन्दनपत्र वाचन गरेर सुनाएका थिए भने वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्व सर्जक चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।
अभिनन्दन कार्यक्रमको मूल आयोजक साहित्यिक पत्रकार संघ तथा सहआयोजक तारा किशन फाउण्डेसन एवं नेपाल स्रष्टा समाज रहेको थियो ।
अभिनन्दन समारोहमा किशन सिंह धामी, ’प्रभुभक्त–छोरीनानी वर्षपुस्तक पुरस्कार’का संस्थापक साथै चर्चिच पुस्तक चोभार ब्लुजका लेखक बिक्रम भक्त जोशीलगायत विभिन्न साहित्यिक संघसंस्थाका थुप्रै स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
*(समाचार स्रोतः विक्रमभक्त जोशीको फेसबुक वाल)
Categorized in पेजथ्री




